झापा,चैत ११ । होली पर्वमा अवाञ्छित गतिविधि हुन नदिन प्रहरी प्रशासनले झापामा कडाई गर्ने भएको छ ।

कसैको ईच्छाबिपरीत रंग दल्ने र फोहोर पानीको लोला हान्ने कार्य गरेमा कानुनी कार्वाही गर्ने निर्णय भएको छ । आइतवार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा अधिकारीहरुको बैठकले होली पर्वमा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको हो । सोमवार होलीका दिन करिव ६ सय सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी ढुण्डीराज गिरीले बताए । मादक पदार्थ सेवन गरेर सवारी चलाउने , तीन जना मोटरसाइकलमा सवार हुने , हेल्मेटबिना मोटरसाइकल चलाउनेलाई कार्वाही गर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख , प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । उनले ट्राफिक नियम उल्लंघन हुन नदिन जिल्लाभर ७५ जना ट्राफिक प्रहरी खटाइने जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले होली पर्व मनाउने क्रममा कोही कसैको ईच्छाविपरित कसैलाई बाधा पुग्ने गरी रंग नलगाउन , महिला तथा अपरिचित ब्यक्तिहरुसंग मन्जुरीबिना जबरजस्ती होली नखेल्न ,बालबालिकाहरुलाई होली खेल्ने खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न ,घरको छतबाट लोला हान्ने, रंग छ्याप्ने, फोहोर पानी फाल्नेलगायतका कार्य नगर्न , छतमा होली खेल्दा घरको छतबाट लडी घाईते एवं मृत्युसमेत हुन सक्ने भएकाले ख्याल गर्न अनुरोधसमेत गरेको छ । होली मनाउँदै जथाभावी लोला हान्दा यसले आपसी झै–झगडा बढाउने र अप्रिय घटनाहरु समेत निम्त्याउन सक्ने तथा लोला लागेर मान्छेहरु घाईते समेत हुन सक्ने हँुदा सभ्य तरिकाले होली मनाउन आग्रह गरिएको हो ।

होली पर्व मनाउने वहानामा मदिरा तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन, होली खेल्ने बहानामा जथाभाबी भिडभाड नगरी कोरोना भाईरसको संक्रमण हालसम्म कायमै रहेकोले बिशेष सतर्कता अपनाई सुरक्षित तरिकाले होली मनाउन , होली खेल्ने बहानामा चोरी,लुटपाट जस्ता कार्यहरु समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स,मोबाइल,आफूले लगाएको गरगहना सुरक्षित राख्नसमेत प्रहरीले अपिल गरेको छ ।

यसैबीच होली पर्वका दिन आइतबार देशभरबाट एक सय २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जवरजस्ती रंग दल्ने, मादक पदार्थ सेवन गरी झैझगडा गर्ने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले जानकारी दिए ।
‘यसपटकको फागु पूर्णिमा विगत वर्ष हेर्दा तुलनात्मक रुपमा शान्तिपूर्ण भयो । ठूला अपराधका घटनाहरु भएका छैनन्,’ उनले भने । मापसे गरी सवारी सधान चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ७५ सवारी साधनलाई होल्ड गरिएको पनि प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै साढे ६ सय मोटरसाईकल÷स्कुटर होल्ड गरिएको छ । १५ वटा सवारी साधन पनि होल्डमा परेका छन् । कार्यालयका एसपी अवधेश बिष्टले लापरवाही गर्ने र मापसे गरि सवारी साधन चलाउनेलाई होल्ड गरिएको बताए । त्यस्तै काठमाडौंबाट ७०, भक्तपुरबाट ४ र ललितपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिष्टले पनि विगतका वर्षभन्दा शान्तिपूर्ण ढंगले फागु पर्व सकिएको जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्