बिर्तामोड, चैत २० । आज अप्रिल २ अर्थात ‘विश्व अटिजम सचेतना दिवस’ । झापाको बिर्तामोडमा पनि मनाइएको छ । न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो ।

अटिजमबारे सचेतना जगाउने र यसको बारेमा अधिकतम् मानिसहरुमा जानकारी दिने उद्धेश्यले र्यालीसहितको कार्यक्रम आयोजना गरिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए । हनुमान कम्प्लेक्सबाट शुरु भएको र्याली वान स्टप मलबाट पूर्वमा इलाका प्रहरी कार्यालयबाट पुनः हनुमान कम्प्लेक्स अगाडी आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा करिब १५० जना सहभागी थिए ।

कोणसभालाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अटिजम कुनै रोग नभई मस्तिष्क विकासको एउटा अवस्था भएको भन्दै सानै उमेरमा यसको पहिचान गर्नसके थेरापीको माध्यमबाट उनीहरुको जीवनयापनमा सहजता ल्याउन सकिने बताए । बालबालिकाको पढ्न पाउने अधिकारको सम्मान गर्दै बिर्तामोड नगरपालिकाले बिर्ताबजारस्थित महेन्द्र रत्न माविमा अटिजम स्रोतकक्षा सरोकारवाला निकायसँग समन्वय गरी सञ्चालन गरिरहेको उनले जानकारी दिए । उनले उक्त स्रोतकक्षाको स्तरवृद्धिका लागि पालिकाले थप सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । र्यालीमा सहभागीहरुलाई अटिजमको बारेमा अधिकतम प्रचार गर्न उनले आग्रह गरे ।

एसएनजेडीका कार्यक्रम संयोजक चुडालले धेरै अभिभावकहरुले अटिजमको बारेमा थाहा नपाउँदा बालबालिकाको अवस्था जटिल बनिरहेको बताए । सानै उमेरमा अटिजमको बारेमा जानकारी पाएमा विभिन्न थेरापीको माध्यमबाट उनीहरुको जीवनयापनमा सहजता ल्याउन सकिने भन्दै यसको व्यापक प्रचार प्रसारको आवश्यकता रहेको उनले बताए । कार्यक्रममा सहभागी इकम कलेज, मनकामना कलेज, आदर्श स्कुल अफ होटल म्यानेजेमेन्टका विद्यार्थी तथा विद्यालयका प्रतिनिधिलगायत सम्पूर्ण सहभागीहरुलाई उनले धन्यवाद दिए ।

कार्यक्रममा सहभागीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड तथा व्यानर प्रदर्शन गरेका थिए ।अभिभावकहरुले अटिजमको थिम तथा नारा उल्लेखित टीसर्ट लगाएका थिए ।कार्यक्रममा अटिजम भएका बालबालिका, अभिभावक, विभिन्न संघ संस्थाका प्रतिनिधि, कलेजका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै एसएनजेडीले सञ्चालन गरिरहेको प्यारेन्ट चाइल्ड ट्रेनिङ सेन्टर र महेन्द्र रत्नमाविको अटिजम स्रोत कक्षामा भएका बालबालिका तथा अभिभावकहरुबिच सचेतना कार्यक्रम समेत सम्पन्न गरेको छ । अटिजम भएका बालबालिका तथा अभिभावकहरुले विभिन्न नारा र सचेतना लेखिएको प्लेकार्ड प्रदर्शन तथा अटिजमको थिम निलो रङ भएको मैनवत्ती बालेका थिए ।

अप्रिल महिना अटिजम सचेतना महिना भएकाले एसएनजेडीले अष्ट्रेलियन दूतावाससँगको सहकार्यमा बिर्तामोडको भाटभटेनी सुपरमार्केट,वान स्टप मल, हनुमान कम्प्लेक्स, विभिन्न कलेजहरुमा अटिजमका लक्षण तथा विभिन्न सचेतनामूलक जानकारी उल्लेखित स्टेण्ड बोर्ड राखेको छ । उक्त बोर्डमा फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्दा बढी लाइक, शेयर तथा कमेन्ट प्राप्त गर्ने पोष्टलाई क्रमशःचार हजार, तीन हजार र दुई हजार रुपैँया पुरस्कार प्रदान गरिने एसएनजेडीका कार्यक्रम अधिकृत रञ्जन धमलाले जानकारी दिए । यो महिनाभर अटिजम सचेतनामुलक विभिन्न पोष्टर तथा पर्चाहरु समेत वितरण गरिने धमलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्