झापा, बैशाख ७ । कोशी प्रदेशसभामा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव शुक्रबार बहुमतले पारित भएको छ ।

सभामुख अम्बरबहादुर विष्टले संकल्प प्रस्तावको पक्षमा ५२ सांसद र मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए । कांग्रेस सांसदहरू भने मत विभाजनमा सहभागी भएनन् ।

सभामुखले संकल्प प्रस्ताव पारितपछि प्रदेशसभाको विशेष अधिवेशनको औचित्य समाप्त भएको भन्दै अधिवेशन अन्त्य भएको घोषणा गरे ।

त्यसअघि संकल्प प्रस्तावका पक्षमा बोल्दै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ‘विश्वासको मत पनि लिन्नँ, राजीनामा पनि दिन्नँ’भन्ने मुख्यमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको र यसले सरकारको नियत सफा नदेखिएको जनाए । ‘अब मुख्यमन्त्रीले ३० दिनभित्र, मार्गप्रशस्त गर्नुप¥यो,’ आङ्बोले भने, ‘१६८ (५) को सरकार चीरस्थायी हुन्छ भन्ने सोच गलत हो ।’ संसद् विघटनको कुरा कल्पनाबाहिरको कुरा भएको भन्दै उनले थपे,‘संसद्ले वैकल्पिक सरकार दिन नसक्दा विघटन गर्ने हो । तजविजका आधारमा संसद् विघटन हुन्न ।’

पूर्वमन्त्री नारायण बुर्जा मगर, माओवादी नेताहरू गोम्बु शेर्पा, गीता तिम्सिना, सपना दर्जी, एमाले सांसदहरू कमला दर्नाल, लिलाबल्लभ अधिकारी, विदुरकुमार लिङ्थेपु, तिलचन पाठक र जसपा सांसद निर्मला लिम्बूले संकल्प प्रस्तावको पक्षमा तथा कांग्रेस सांसदहरू खगेन्द्रसिंह आङ्वाङ र विनोद राईले प्रस्तावको विपक्षमा धारणा राखेका थिए ।

मुख्यमन्त्री केदार कार्कीले संसद्मा जवाफ दिँदै विगतमा आफूलाई मुख्यमन्त्री बनाउने बेलामा बहुमत नखोजिएको र अहिले बहुमत खोजिनु दुःखद रहेको बताए । ‘मुख्यमन्त्रीमा समर्थन गर्ने बेलामा बहुमत खोजिएन । १६८ (५) को व्याख्या खोजियो त्यहीअनुसार मुख्यमन्त्री भएँ,’ उनले भने । मध्यावधिमा जानबाट रोक्न राजनीतिक स्थायित्व कायम गर्नलाई त्यतिबेला सरकार बनेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्