बिर्तामोड, जेठ १३ । नेकपा एमालेले बिर्तामोड–४ कालिकानगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको क्रुर र अमानवीय ढंगले हत्या भएको भन्दै त्यसबाट बिर्तामोडको सुरक्षा व्यवस्था चुनौतिपूर्ण बनेको जनाएको छ ।

नेकपा एमाले बिर्तामोडको दोस्रो अधिवेशनमा त्यस घटनामा संलग्नमाथि कार्वाही हुन नसकेकोमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराइएकोे हो । अधिवेशनमा प्रस्तुत अध्यक्षको प्रतिवेदनमै त्यस घटनालाई उठाइएको छ । नगर अध्यक्ष सुवास भट्टराईका अनुसार यो घटनाले एकातिर बढ्दो लागूऔषध दुव्र्यसनले गर्दा समाजमा मानवीय संवेदना हराउँदै गएको देखिन्छ भने अर्काेतिर समाजमा अपराध मनोबृत्ति डरलाग्दो बन्दै गएको छ ।

रोजगार र अध्ययनको लागि परिवारका सदस्यहरु घरबाट टाढा देश बिदेश जाने प्रवृति बढ्दै गएको परिवेशमा एक्लै बसोबास गर्नु पर्ने जेष्ठ नागरिकहरुको सम्मानजनक र सुरक्षित बसोबासको लागि राज्यबाटै जेष्ठ नागरिक आवासीय भवनको निर्माण, व्यवस्थापन र संचालन गर्नुपर्ने एमालेले माग गरेको छ ।

अधिवेशनका प्रमुख अतिथि एमालेका महासचिव शंकर पोखरेलले बिर्तामोड अर्को अव्यवस्थित शहर काठमाडौं भइरहेको बताएका छन् । व्यापारिक हवको रुपमा विकास भइरहेको बिर्तामोडमा व्यवस्थित शहरीकरण नभएको बताए । बिर्तामोडको तुलनामा पुरानो बजार भद्रपुर धेरै व्यवस्थित रहेको महासचिव पोखरेलको भनाई छ । पोखरेलले बिर्तामोड अव्यवस्थित शहर र अपराधको केन्द्र बन्दै गइरहेकोमा चिन्ता व्यक्त गरे । उनले नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा बिर्तामोड अव्यवस्थित शहर भएको र आपराधिक केन्द्र बन्दै गएकोले पार्टी नेतृत्वलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले भने– यहाँको समस्या समाधान गर्न बाहिरबाट कोही आउने छैन, तपाईहरुकै नेतृत्वमा समस्याहरुको समाधान हुनुपर्छ ।

अपराधको केन्द्र बन्दै गएमा यस क्षेत्रले संबृद्धि हासिल गर्न नसक्ने भन्दै अपराध न्यूनीकरणका लागि एमालेले योजनावद्ध काम गर्नुपर्ने उनको सुझाव छ । समाज रुपान्तरणमा आपराधिक गतिविधिले अवरोध गर्ने भन्दै उनले योजनावद्ध ढंगबाट न्यूनीकरणमा काम गर्न आग्रह गरेका छन् ।

‘एमाले नेतृत्वले अबको बिर्तामोड कस्तो बनाउने भन्ने ध्यान दिनुपर्छ, अपराध कसरी न्यूनीकरण गर्दै त्यसतर्फ ध्यान जरुरी छ,’ नेता पोखरेलले भने ।

बिर्तामोड–४ कालिकानगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको बैशाख २६ गते हत्या भएको थियो । घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी बिर्तामोडको प्रहरी टोली गरी चारवटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका छन् । तर, अहिलेसम्म उपलव्धि हासिल गर्न सकेका छैनन् । चारवटा प्रहरी टोलीले अनुसन्धान गरेको दुई साताभन्दा बढी भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।‘ त्यस घटनालाई हरेक एंगलले हेरेर अनुसन्धान गर्न कुनै पनि कसर बाँकी राखेका छैनौं’उनले भने , ‘ यद्यपि अहिलेसम्म उपलव्धि हासिल हुन सकेको छैन । ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्