झापा, असार ३१ । काठमाण्डौबाट झापा आउँदै गरेको ट्रक र विपरित दिशाबाट जाँदै गरेको स्कुल बस आज बिहान उदयपुरमा ठक्कर खाँदा चारजना घाइते भएका छन् ।

बिहान ६ः४० बजेको समयमा उदयपुर त्रियुगा नगरपालिका वडा नंवर ७ चुहाडे गुण्टेस्थित मदन भण्डारी राजमार्गमा काठमाण्डौबाट झापा आउँदै गरेको प्र१–०५–००१क००३७ नम्वरको ट्रक र बिपरित दिशाबाट जाँदै गरेको प्र१–०१–००१ख ३८०८ नम्वरको उदयसी बोर्डिङ स्कुल जलजलेको स्कुल बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा बस चालक उदयपुर त्रियुगा ४ फर्सेट बस्ने बर्ष ५० का भिमबहादुर मगर,सहचालक वडा नं ६ बस्ने बर्ष ५३ का कुलबहादुर थापा, बिद्यार्थीहरु १४ वर्षीया सिम्रन चौधरी र १८ वर्षीय सुरेश दनुवार घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको जनाइएको छ ।
ट्रक चालक झापा कन्काई ५ बस्ने बर्ष ३० का टुजन दियाली सकुशल रहेका छन् । ट्रक र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।