लक्ष्मी उप्रेती,

मेचीनगर । ६ वर्षअघि छोटी भन्सारबाट मुल भन्सार कार्यालयमा स्तरोन्नति भएको भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०÷०८१ मा शतप्रतिशत राजस्व संकलन गरेको छ ।

विभिन्न समस्याका बावजुद भद्रपुर भन्सार कार्यालयले २४ करोड ३४ लाख २७ हजार ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए ।

भन्सार विभागले भद्रपुर भन्सार कार्यालयलाई वार्षिकरुपमा १२ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सीमित स्रोत साधनका बावजुद कार्यालयले अवैधरुपमा हुने चोरी पैठारी नियन्त्रणका लागि निकै सक्रियता बढाएको छ ।जसको परिणाम कार्यालयबाट संकलन भएको राजस्वले पुष्टि गरेको भन्सार अधिकृत तिवारीको भनाई छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयले विभिन्न शीर्षकमा ९ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
मेची भन्सार कार्यालय काँकरभिट्टा मातहतमा रहेका छोटी भन्सारमध्ये प्रमुख स्थानमा रहेको भद्रपुर छोटी भन्सारलाई मेची नदीमा पक्की पुल बनेपछि सरकारले स्तरोन्नति गरेको थियो । २०७५ भदौ १९ गते तात्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुख्य भन्सारको रुपमा भद्रपुर भन्सार कार्यालयको उद्घाटन गरेका थिए ।

सीमापारी छोटी भन्सारमात्र हुनु, मुल भन्सारमा स्तरोन्नति भएपनि पूर्वाधारको समस्या रहनुु , पर्याप्त जनशक्ति नहुनु , मेचीपारी पनि नेपाली गाउँ हुनुलगायत थुप्रै समस्या रहेको भन्सार प्रमुख तिवारी बताउँछन् ।

मेची खोलापारी मेचीनगर—१५ नम्बर वडामा पर्ने ग्वाल, सिसौडाँगी र झारु गरी तीनवटा बस्ती रहेका छन् । त्यस्तै साविक महेशपुर गाविसको २ नम्बर र हाल भद्रपुर नगरपालिकाको ३ नम्बर वडा मेचीपारी पर्दछ । त्यसैगरी, भद्रपुर ५ नम्बर वडाको केही भूभाग समेत मेचीपारी पर्ने भद्रपुर नगरपालिकाले जनाएको छ । ती बस्तीका कारण सामान आयात निर्यातमा समस्या हुने गरेको छ ।

‘सव्जीहरु नेपालतर्फ ल्याउँदा स्थानीय उत्पादन हो भन्ने गरिन्छ, यसले समस्या ल्याइरहेको छ’ भन्सार कर्मचारीहरु भन्छन् । भारतको बिहार राज्यको गलगलिया, ठाकुरगञ्ज, किसनगञ्ज भएर भद्रपुर नाका हुँदै लत्ताकपडा, चिया उद्योगको प्याकिङका सामग्री तथा मेशिनरी पार्टस्, प्लाइउड, उद्योगको पाटपूर्जाको केमिकल ,फलफूल र खेतीपातीमा प्रयोग हुने विषादी प्रमुख रुपमा आयात हुने गरेको छ ।

मुद्धाबाट मात्र १३ करोडबढी राजस्व

कार्यालयले गत आर्थिक वर्ष २०८०÷०८१ मा किनारा लगाएको मुद्धाबाट मात्र १३ करोड ३१ लाख १४ हजार ९५ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा सरीआएका दुईसय ९९ र गत आर्थिक वर्षमा दर्ता भएका चोरी पैठारीका नौसय ६६ गरी कुल एकहजार दुईसय ६५ वटा मुद्धामध्ये आठसय ८३ वटा किनारा लागेको र बाँकी चालु आर्थिक वर्ष २०८१÷०८२ मा सरीआएको कार्यालयको मुद्धा शाखाले जनाएको छ ।

यो अवधिमा भन्सारका तर्फबाट आठ, सशस्त्र प्रहरीका तर्फबाट नौसय आठ र नेपाल प्रहरीका तर्फबाट ५० वटा मुद्धा दर्ता भएका थिए । अधिकांश मुद्धा चौपायासम्बन्धी छन् । कुल मुद्धामध्ये चौपायासम्बन्धी तीनसय बढी छन् । बाँकी खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पललगायतका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्