भद्रपुर, असोज २३ । भद्रपुर– ८ स्थित मेची राजमार्गमा पर्ने प्रादेशिक अस्पताल चौंकमा निर्मित प्रतिक्षालयको उद्घाटन भएको छ ।
करिव ९ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको बहुकलात्मक यात्रु प्रतिक्षालयको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् ।
प्रादेशिक अस्पताल आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर २०४१ सालमा तत्कालीन भद्रपुर जेसीजका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा निर्माण गरिएको प्रतिक्षालय जीर्ण रूपमा रहेको थियो । मेची राजमार्गको स्तर उन्नति भएपछि त्यसलाई भत्काइएको थियो ।
प्रतिक्षालय भत्किएपछि भद्रपुर ८ नम्वर वडा कार्यालयको समन्वयमा नगरपालिकाले गत वर्ष ८ लाख रकम विनियोजन गरेपछि कलाकार सञ्जय प्रधानको नेतृत्वमा बहुकलात्मक चौतारो निर्माण थालिएको थियो ।
भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा मनोजको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, प्रतिक्षालय निर्माणका पूर्व संयोजक गोविन्दचन्द छेत्रीलगायतको उपस्थिति रहेको थियो ।