झापा, कात्तिक २८ । नेपालमा अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएपछि यात्रुले दिल्लीलगायतका भारतीय गन्तव्यबाट यात्रा गर्न थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समय कटौती भएपछि दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यमा जाने यात्रुले भारतबाट हवाई सेवा लिन थालेका हुन् ।
दैनिक २१ घण्टा खुला हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गत शुक्रबारदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुँदा त्यसको असर हवाई भाडामा परेको छ । त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगारी, उच्च शिक्षाका लागि बिदेसिनेले भोग्न थालेका छन् ।
नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले भने, “नेपालभन्दा भारतमा हवाई इन्धनको मूल्य सस्तो हुने गरेको छ । भारतमा तुलनात्मक हवाई भाडा नेपालभन्दा सस्तो भएपछि अहिले नेपाली श्रमिक दिल्लीबाट उड्न थालेका छन् ।” नेपालबाट उडान भर्दा श्रमिकले वर्षभर कमाउने बराबरको पैसा हवाई टिकटमै जाने भएपछि भारतीय गन्तव्यतर्फ आकर्षित भएको उनले बताए । यसले भोलिका दिनमा नेपाली वायु सेवा र नेपाली पर्यटन क्षेत्रमा ठुलो समस्या निम्त्याउन सक्ने उनको भनाइ छ ।
सरदर दैनिक १५ सय नेपाली रोजगारीका लागि बिदेसिने गरेकामा अहिले नोभेम्बरभित्रका टिकट उपलब्ध नरहेको र उपलब्ध टिकटसमेत बिजनेस क्लासका महँगा मात्रै हुँदा श्रमिक मर्कामा परेको उनले बताए । भैरहवाबाट पाँच वटा हवाई कम्पनीले उडान सञ्चालन गर्दासमेत हवाई भाडा नघटेपछि स्वीकृति पाएका यात्रु भारतबाट वैदेशिक रोजगारमा जान थालेको उनले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले टिकटको मूल्य कम गर्नेबारे सरोकारवालासँग पाँचबुँदे सहमति गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडानतर्फका एयरलाइन्स कम्पनीले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्ने गरी एकमुस्ट रूपमा टिकट बिक्री गर्ने अधिकार फुकुवा भए मात्र भैरहवामा टिकट उपलब्ध हुने र भाडा पनि प्रतिस्पर्धी हुने सम्भावना देखिन्छ । नभए भैरहवामा तत्काल टिकट उपलब्ध हुने सम्भावना नरहेको अध्यक्ष भण्डारीले बताए ।