शिवगञ्ज,मंसिर २१ । साना बालबालिकालाई खुसी बनाउन कुनै त्यस्तो ठूलो र अनौठो वस्तु दिनै पर्दैन । उनीहरूको जीवन र दैनिक व्यवहारमा आइपर्ने समस्याको समाधान वा खेलौना मात्र दियो भने बालबालिका त्यसै खुसी हुन्छन् ।
शुक्रबार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को सरस्वती आधारभूत विद्यालयका विद्यार्थी औधि खुसी देखिन्थे । उनीहरुको अनुहार विना मेकअप त्यसै चम्किएको थियो । बिना सूचना उनीहरूले जाडोमा लगाउने न्यानो स्विटर पाएपछि उनीहरू अप्रत्यासित खुसी भए । जहाँ खुशीको सीमा थिएन ।विद्यालय आएका विद्यार्थी बिहानको प्रार्थना सभा सकेर कक्षा कोठामा पसिसकेका थिए । वडा अध्यक्ष मनोज खुलाल कार्कीलगायतका जनप्रतिनिधिले एक बोरा जाडोमा लगाउने स्विटर लिएर विद्यालय हातामा प्रवेश गरे । वडा कार्यपालिकाले सो विद्यालयका विद्यार्थीलाई जाडोमा लगाउने स्विटर दिने कार्यतालिका विद्यालय प्रशासनलाई जानकारी दिएकै थिएन । एकैचोटि बिहान वडा अध्यक्ष खुलालले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीलाई फोन गरेर नजिकका अभिभावकलाई विद्यालयमा बोलाउन अनुरोध गरेपछि मात्र उनले केही कार्यक्रम छ कि भन्ने शंका गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक भण्डारीले भने, ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नजिकका अभिभावकहरूलाई विद्यालयमा ११ बजे बोलाउन वडा अध्यक्षले अनुरोध गर्नुभएको थियो । हामीले ठान्यौँ अनुगमन या कोही नेता विद्यालयको अवलोकन गर्न आउने होला भन्ने ठान्यौँ ।’
प्रधानाध्यापक भण्डारीका अनुसार वडा अध्यक्षलगायतका जनप्रतिनिधि बोरामा स्विटर लिएर आएर कक्षा कोठामा प्रवेश गरेका विद्यार्थीलाई पुनः बाहिर निकालेर लाइन लगाउन भन्नुभयो । प्रधानाध्यापक भण्डारीले भने, ‘त्यसै क्रममा विद्यार्थीहरूले स्विटर देखे र हामीलाई नै दिन ल्याएको होला भन्ठानेर सामूहिक ताली बजाए र उनीहरुले खुसी व्यक्त गरे ।
सो विद्यालयमा ११० जना विद्यार्थी अंग्रेजी माध्यमबाट पठनपाठन गरिरहेका छन् । विद्यालयमा भएको सरकारी दरबन्दीको जनशक्तिले मात्र थाम्न नसकेपछि दुईजना निजी स्रोतबाट शिक्षक थप गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
वडाध्यक्ष खुलालले विद्यालयको शैक्षिक उन्नयनका निमित्त विपन्न अभिभावकका छोराछोरी अध्ययन गर्ने सो विद्यालयका विद्यार्थीलाई स्विटर प्रदान गरेको बताए । विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यालयका शिक्षक कर्मचारीले दत्तचित्त भएर विद्यालयको शैक्षिक गुणस्तर सुधार गरे अन्य थप कार्यक्रम पनि विद्यालयलाई प्रदान गर्ने वडा अध्यक्षले खुलालले बताए ।
कार्यक्रममा वडा सदस्य गीता दर्जी, गंगा ताजपुरिया र नरेन्द्र बस्नेतको सहभागिता थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको थियो ।