बिर्तामोड, पुष २० । नेपालका फर्निचर तथा फर्निसिङ व्यवसायीहरु पलायन हुने अबस्थामा पुगेका छन् ।

विगतको तुलनामा निकै फड्को मारेपनि भन्सार शुल्क, वनको नीति नियम, विदेशी फर्निचरको आयात र भारतीय कामदारमाथि निर्भर रहनुपर्ने अवस्थाका कारण उनीहरु समस्यामा परेका हुन् ।
शनिवार झापाको बिर्तामोडमा आयोजित नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघको १० औं बार्षिक साधारण सभामा सहभागी व्यवसायीहरुले आफ्ना समस्या सुनाएका थिए । देशभरका फर्निचर तथा फर्निसिङ व्यवसायीहरुले करिव ५० अर्ब रुपैयाँ व्यवसायमा लगानी गरेका छन् । उनीहरुले ९० प्रतिशत माग धानिरहेका छन् । तर, वार्षिक १५ अर्ब रुपैयाँको फर्निचर विदेशबाट आयात हुने गरेको छ ।
कच्चा पदार्थ आयात गर्दा ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने , विदेशी फर्निचर आयात हुँदा आफ्ना उत्पादनले बजार मूल्य नपाएको , दक्ष घरेलु कामदार नहुँदा भारतीय कामदारमाथि निर्भर रहनुपर्ने , एउटै जिल्लामा पुरानो घर खरिद गरेर एक ठाउँबाट अर्को ठाउँमा लैजान नपाउनेजस्ता समस्या भोगिरहेको उनीहरुको भनाई थियो ।

महासंघका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, होटल ब्यवसायी महासंघका उपाध्यक्ष डिबी गौतम, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण बिमली, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, फर्निचर तथा फर्निसिङका मधेश प्रदेश अध्यक्ष बिनोद महत, संघका झापा अध्यक्ष रोहित आचार्यलगायतले आ–आफ्नो भनाई राखेको महासंघका द्वितीय उपाध्यक्ष खगेन्द्र खरेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव छबिलाल गैरेले गरेका थिए ।