बिर्तामोड, माघ २७ । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


बिर्तामोड– ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा दमक नगरपालिकालाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् भने २ गोल मेनुका मगरको नाममा रह्यो । एकोहोरो दबाब झेलेको दमकविरुद्ध पहिलो हाफमै ६–० गोलको फराकिलो अन्तर अर्जुनधाराले निकालेको थियो ।

जसमा जेनिफरले ४ र मेनुकाले २ गोल गरेकी थिइन् । जेनिफरले खेलको ३, ७ र १७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, २६ औं र ५८औँ मिनेटमा जेनिफरले थप दुई गोल गरेकी हुन् । मेनुकाले २० र २२औँ मिनेटमा गोल गरेकी थिइन् ।
जेनिफरले प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाइन् । उनलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कार प्रदान गरे ।

भोलि आयोजक बिर्तामोड नगरपालिकाले पहिलो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्