झापा, चैत २१ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको इक्वालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ ।

बिहीवार भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको हो । पहिलो संस्करणमा मोरङले झापासँग पराजित भएयता लगातार उपाधि जित्दै आएको छ ।

टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८१ रन जोडेको छ । सप्तरीकी साक्षी यादवले २८ रन बनाउँदा दिपा रामले अविजित १५ रनको योगदान दिइन् । मोरङकी प्लेयर अफ फाइनल क्रितिषा धामीले ५ विकेट लिइन् । उनले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै ९ रन दिइन् । धामीबाहेक बन्दना राजवंशीले ३ विकेट लिइन् ।

८२ रनको लक्ष्य पछ्याएको मोरङले ११ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा सानु राजवंशीले अविजित ४० रन बनाउँदा कप्तान टिका साहले १५ रनको योगदान दिइन् । सप्तरीकी साक्षी यादवले १ विकेट लिँदा अपेक्षा यादवले पनि १ विकेट लिइन् ।

प्रतियोगिताको प्लेयर अफ सिरिज सिरहाकी सरस्वती चौधरी घोषित हुँदा उत्कृष्ट ब्याटर सप्तरीकी साक्षी यादव, उत्कृष्ट बलर मोरङकी क्रितिषा धामी र उत्कृष्ट विकेट किपर मोरङकी प्रिंसा राना मगर घोषित भए ।

म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियानअन्तर्गत इक्युवालिटी कप क्रिकेट आयोजना भएको हो ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिशेख श्रेष्ठलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्