झापा, जेठ २७ । चीनले नेपालमा प्रभाव बढाउन थालेको भारतीय कथित मान्यताका बीच नेपालका लागि चिनियाँ राजदूतले पूर्वी नेपालमा सक्रियता बढाएका छन् ।

सोमवार झापा आएका चिनियाँ राजदूत जेन सोङ मंगलवार दिनभरि विभिन्न कार्यक्रममा व्यस्त रहे ।
मंगलवार बिहान ८ः१० बजे बिर्तामोडको सिद्धार्थ ग्राण्ड सिटी होटलबाट राजदूत सोङसहित ६ सदस्यीय टोली अर्जुनधारा –२ खुदुनाबारीतर्फ प्रस्थान गरेको थियो । त्यहाँस्थित दुना उद्योग (इनर्जी क्राप्स) ले उत्पादन गरेको सुपारीको पातबाट बन्ने दुना, टपराको अवलोकन गरेको छ ।
त्यस्तै बिहान ९ः५० देखि १०ः१५ बजेसम्म अर्जुनधारा –१० स्थित कालीझोडामा बाँसबाट उत्पादित वस्तु तथा फ्याक्ट्रीको सोङले अवलोकन गरेका छन् । त्यसपछि राजदूत सोङलाई अर्जुनधारा नगरपालिकामा भव्य स्वागत गरियो ।उनलाई नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललगायत नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले स्वागत गरेका थिए ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको बिशेष पहलमा झापा आएका राजदूतको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
सम्भाव्यता अध्ययन गरेर औद्योगिक क्षेत्रको विकासमा चिन सरकारको साझेदारीका लागि भ्रमण केन्द्रीत रहेको सभामुखका स्वकीय सचिव केशवराज ढुङ्गेलले जानकारी दिए ।
त्यस्तै १०ः५५ बजे अर्जुनधारा ८ स्थित शनिश्चरे मा.बि को अवलोकन गरी शैक्षिक सामग्री बितरण गरेका छन् । १० जना विद्यार्थीहरूलाई जनही १० हजारका दरले दरले छात्रवृति प्रदान गरिएको थियो ।
त्यस्तै कक्षा नर्सरीदेखि ८ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय ब्याग वितरण गरिएको थियो । त्योसंगै खेलकुद सामग्रीहरू भलिबल – ४ वटा, फुटबल– २ वटा , टेबलटेनिस सेट– २ सेट, बास्केटबल – ३ वटा र डिभाइडर – २ दर्जन र सिठ्ठी वितरण गरिएको थियो ।
चिनियाँ राजदूतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभूत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ ।
मंगलवार एक कार्यक्रमका विच नेपालका लागि चिनियाँ राजदूत सोङ र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्घाटन गरेका थिए । चिनियाँ राजदुतावासको ५० लाख रुपैयाँको सहयोगमा ४ कोठे २ तले भवन निर्माण भएको हो ।
शुक्रराज आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै राजदूत सोङले शिक्षा सबैभन्दा महत्वपूर्ण विषय रहेकोले यसमा ध्यान दिनु पर्ने बताए । चीनको विकास शिक्षाकै कारण भएको बताउँदै उनले आगामी दिनमासमेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । सोङले नेपाल र चीनको सम्बन्ध पुरानो रहेको भन्दै २०७२ सालमा आएको भूकम्पपछि नेपालमा विभिन्न १० वटा विद्यालय निर्माणमा सहयोग गरेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले बिर्तामोडको विकासको लागि पूर्वाधार, कृषि, शिक्षा लगायतका क्षेत्रमा चिनियाँ दूतावासले सहयोग पुर्याएको भन्दै धन्यवाद व्यक्त गरिन् ।
यस्तै उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नेपालमा हस्पिटल, हाईड्रोपावर, सडकमा चीनको महत्वपूर्ण सहयोग रहँदै आएको बताए । उनले विद्यालय भवन निर्माणको लागि रकम उपलव्ध गराएकोमा दूतावासको प्रशंसा गरे।
यसअघि चिनियाँ राजदूत सोङले बिर्तामोड ९ स्थित गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ४ सय जना विद्यार्थीलाई विभिन्न १९ प्रकारका स्टेशनरीसहितको व्याग तथा खेलकुदका सामग्री बितरण गरेका थिए । उनले दुर्गा मा.वि र शुक्रराज आधारभूत विद्यालयका १०÷ १० जना विद्यार्थीलाइ जनही दश हजार रुपैयाँको दरले छात्रवृत्तिसमेत प्रदान गरे ।
चिनियाँ राजदूत सोङ अझै २ दिन बिर्तामोड तथा अर्जुनधाराका विभिन्न कार्यक्रममा सहभागी हुने तालिका छ ।