बिर्तामोड, वैशाख २६ । झापाको बिर्तामोडमा अत्यावश्यक काम र कार्यालय हिडेका व्यक्तिलाई अनावश्यक दुःख दिने अझै रोकिएको छैन । प्रशासनको निर्देशन र जारी स्वास्थ्य सन्देशको खुलेआम अवज्ञा गर्नेहरुले नै आवागमनमा अवरोध गर्ने गरेका हुन् ।
सहायक मार्ग र सडक किनारमा समूह बनेर बसेका व्यक्तिले हप्कीप्की गर्ने समेत गर्ने गरेको पीडितहरुले गुनासो गरेका छन् । कृषि थोकरोड, कन्काइरोड, अग्रसेन भवन पश्चिम, परिचय आवास क्षेत्र दक्षिण,पुरानो भद्रपुररोड पूर्वमा निरन्तर त्यस्तो गर्ने गरिएको छ । स्पष्ट परिचय खुल्ने कागजात भएका र कार्यालय हिडेका व्यक्तिको आवागमनलाई सहज तुल्याउन आवश्यक भएको वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको माग छ । बिर्तामोडमा केही बैंक र अधिकांश सहकारीहरुले निश्चित समय तोकेर सेवा प्रवाह गरिरहेका छन् । सहकारीका कर्मचारीहरुले अवरोध हुने गरेको दुखेसो गरेका छन् । स्वयंसेवक बताउने, जनप्रतिनिधिहरुको सल्लाह र समन्वयमा त्यस्तो काम आफूहरुले अवरोधकर्ताहरुले बताउने गरेका छन् । तर, जनप्रतिनिधिले त्यस्तो कार्य गर्न आफूहरुले कसैलाई निर्देशन नदिएको पटक पटक दोर्होयादै आएका छन् ।
यसअघि स्थानीयले मनखुशी ढाट तेर्साएर आवागमनमा अवरोध गरेका थिए । ती ढाट जनप्रतिनिधिको आग्रहमा प्रहरीले हटाए पछि ठाउँठाउँमा समूह भएर बस्ने र अवरोध गर्ने गरेको पीडितको भनाइ छ । यो विषयमा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले कहिँ कतै त्यस्तो भएको भए आफूले सरोकारवालासँग बुझ्ने र समन्वय गर्ने बताए । “लकडाउनका बेला सकभर कसैले पनि बाहिर ननिस्केकै राम्रो” उनले भने, “अफिस, अत्यावश्यक सेवाका मानिसले परिचयपत्र स्पष्ट देखिने गरेर बोकेको देख्दादेख्दै कसैले कसैलाई रोक्न मिल्दैन ।” केही दिन अघि एकजना चिकित्सकलाई आफैँले सम्झाउनु परेको सुनाए । परिचयपत्र भिर्न र गोजीमा नराख्न उनले आग्रह गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्