झापा , जेठ १ । हिजो दिउँसो आएको हावाहुरीले झापाको सीमावर्ती गाउँपालिका कचनकवल — २ को पूर्व झोडामा ११ वटा विद्युतको पोल भाँचिएर गाउँ अन्धकार भएको छ ।

हावाहुरीले १० घरमा क्षति पुर्याएको छ । धनबहादुर कट्टेल र अर्का एक व्यक्तिको घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय पुरुषोत्तम ढकालका अनुसार कट्टेल परिवार विस्थापित नै भएको छ । अर्को परिवार पनि विस्थापित हुने अवस्थामा छ । लक्ष्मीप्रसाद देवकोटा नमूना माविका शिक्षक समेत रहेका ढकालले हावाहुरीले कसैको घरको बेरा भत्काएको , कसैको छानो उडाएको र कसैको घर बङ्ग्याएको बताए । बिजुलीका तार सडकमा नै असरल्ल छरिएको अवस्थामा रहेको छ । पानीसँगै एक्कासी आएको हावाहुरीले कचनकवलमा अरु पनि क्षति गरेको बताइएको छ । तर,त्यसको विवरण आएको छैन ।

उता गौरादह नगरपालिका — ९ बैगुनधुराको डाँडागाउँ क्षेत्रमा एकजनाको घर हावाले पल्टाइदिएको छ । कसको घर उडाएको हो खुल्न सकेको छैन । हावाहुरीले आँपलगायत फलफूल र मकैसहित अन्य खाद्यान्न बालीमा ठूलो क्षति गरेको भएपनि वर्षा र रातका कारण यथार्थ तथ्यांक आउन सकेको छैन । उता अर्जुनधारा क्षेत्र हिजो साँझदेखि अन्धकार छ । विद्युत आपूर्ति नहँुदा समस्या भएको स्थानीयले बताएका छन् । कहाँ के भएर बिजुली नआएको हो प्राधिकरणले केही पनि जनाएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्