दमक, जेठ २ । झापा दमक नगरपालिकाका कर्मचारीले नगरपालिकाले उपलव्ध गराउँदै आएको प्रोत्साहन भत्ता नलिने भएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड– १९)को रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्नुपर्ने भएकाले गत वैशाखदेखि संक्रमण नियन्त्रण नभएसम्म भत्ता नलिने भएको नगर प्रमुख रोमनाथ ओलीले बताए ।
उनका अनुसार नगरपालिकाका विभिन्न शाखा प्रमुख,वडासचिवहरुको संयुक्त बैठकले त्यस्तो निर्णय गरिएको हो । नगरपालिकाले यस विपद्को परिस्थितिमा सो प्रोत्साहन भत्तालाई समेत कोरोना भाइरसको संक्रमण रोकथामका लागि खर्च गरिने निर्णय भएको उनले बताए ।
नगरपालिकामा १५० बढी कर्मचारी कार्यरत छन् । ती कर्मचारीका लागि प्रोत्साहन भत्तास्वरुप नगरपालिकाले बार्षिक ६० लाख बढी वजेट विनियोजन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले बताएका छन् ।

कमल गाँउपालिकाका कर्मचारीले पनि नलिने
दमकसंगै जोडिएको कमल गाउँपालिकाका कर्मचारीहरुले पनि गाउँपालिकाले उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ता नलिने भएका छन् । गाउँपालिकाको बिहीवार बसेको कार्यपालिकाको वैठकले स्वास्थ्य र सरसफाई वाहेकका कर्मचारीले लिदै आएको प्रोत्साहन भत्ता बन्दाबन्दी अवधिभर नलिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले कर्मचारीलाई उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ता गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने र सोही कोषबाट यो बिषम् परिस्थितिमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि खर्च गरिने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्