झापा, जेठ ११ । झापामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । शनिबार झापा गाउँपालिका ४ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै झापामा संक्रमितको संख्या ३६ पुगेको हो ।

झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा रहेका ती व्यक्ति सात दिनअघि मुम्बइबाट झापा आएका थिए ।उनीसँगै स्वाब संकलन गरी धरान पठाइएका ४६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । झापामा सबैभन्दा पहिला दमक ३ का ६२ वर्षीय पुरुष र त्यसपछि बाह्रदशीका अर्का पुरुषमा कोरोना पुष्टि भएको थियो । उनीहरु दुबैजना निको भएर घर फर्किसकेका छन् । गत सोमबार पथरिया मावि कचनकवलको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनी झापामा कोरोना पुष्टि हुने तेस्रो व्यक्ति हुन् । लगत्तै मंगलबार त्यहीँका ९ जनामा कोरोना पुष्टि भएको थियो । त्यसको भोलिपल्ट दिउँसो लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनका पाँच जनामा कोरोना पुष्टि भएको थियो । सोही दिन राति ११ बजे १० जना र बिहीबार दिउँसो ८ जनामा कोरोना पुष्टि भएको थियो । शुक्रबार झापामा कोरोना संक्रमितको संख्या थपिएन । शनिबार एक जनामा कोरोना देखिएपछि झापा गाउँपालिका सिल गर्ने विषयमा छलफल भैरहेको छ ।

१२ वर्षीयाको रिपोर्ट नेगेटिभ
गौरीगञ्ज २ तुलाचौनकी १२ वर्षिया बालिकाको रिपोर्ट नेगेटिभ आएको छ । शंकास्पद लक्षण देखिएपछि उनलाई गत जेठ ८ गते मेची अस्पताल लगिएको थियो । त्यहीँबाट उनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि बिराटनगर पठाइएको थियो । कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । बालिका घर फर्किएकी छन्।
गौरीगञ्जबाट ८८ जनाको स्वाब पठाइयो
क्वारेन्टाइनमा राखिएकाको कोरोना परीक्षण थालिएको छ । गौरीगञ्ज क्याम्पसको क्वारेन्टाइन र नवनिर्मित अस्पताल भवनको क्वारेन्टाइनमा रहेकामध्ये ८८ जनाको स्वाब संकलन गरी बिराटनगर पठाइएको हो ।नवनिर्मित अस्पताल भवनको क्वारेन्टाइनबाट ३५ र गौरीगञ्ज बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट ५३ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि बिराटनगर पठाइएको स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । भारतमा अलपत्र परेकामध्ये बैरिया र फतेहपुर नाकाबाट थप ३० जनालाई उद्दार गरी गौरीगञ्ज क्याम्पसको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
१५जनामा आरडीटी पोजेटिभ
मेचीनगरको विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिमा गरिएको र्यापिड डाईगोनोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्र्यालय झापाका अनुसार ३१५ जनामा गरिएको परीक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । आरडीटी पोजेटिभ देखिएका व्यक्तिको भिटिएममार्फत स्वाब संकलन गरी पीसीआर परीक्षणपश्चात् संक्रमण भए नभएको यकिन हुने जनाइएको छ । काँकरभिट्टा मावि, आदर्श मावि र मेचीनगर ११ को स्वास्थ्य चौकी भवनमा रहेका व्यक्तिको परीक्षण गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्