भद्रपुर, जेठ १४ । कोरोना भाइरस संक्रमितको उपचार गर्न विशेष अस्पतालका
रूपमा मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई विकास गर्ने सरकारी निर्णय सच्याउन माग राख्दै विवाद समाधान समितिले ज्ञापनपत्र बुझाएको छ ।

जिसस प्रमुखलाई ज्ञापनपत्र बुझाउदै

समितिका संयोजक भक्त खवासको नेतृत्वमा वडाध्यक्षद्वय गौरव सुब्बा मनोज,
बन्धु कार्की, अग्रज पत्रकार गोपाल गिरी, सामाजिक व्यक्तित्व प्रा.डा पृथ्वीविक्रम
राईलगायतको टोलीले जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालय
झापामा ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ —‘अस्पतालसंगै जोडेर नव निर्माण भईरहेको अस्पताल
भवनमा कोभिड अस्पताल वनाउन उपयुक्त नहुने र अस्पतालजस्तो संवेदनशील क्षेत्रमा वनाउँदा जटिल समस्याहरु उत्पन्न भई अस्पतालको सेवा प्रवाहमा नकारात्मक असर पर्ने कुरालाई ध्यानमा राख्दै नवनिर्मित अस्पताल भवनको विकल्प भद्रपुरमै खोजियोस् भन्ने जोडदार माग गर्दछौं ।’
‘मेची अञ्चल अस्पताल भनेको विपन्न र निम्न आय भएका आम जनसमुदायको आशा र भरोसाको स्वास्थ्य उपचार केन्द्र भएकाले कोभिड अस्पताल वन्ने वित्तिकै पर्ने नकारात्मक प्रभावका वारेमा नजरअन्दाज गरिनु हुँदैन भन्ने हाम्रो माग हो । मेची अस्पताल अधिकभन्दा अधिक मात्रामा विमामा आवद्ध भएका रोगी, वृद्धवृद्धा, न्यून र कमजोर आर्थिक अवस्था भएका परिवारका रोगीहरुको उपचारस्थल हो । यहाँ प्रसुति सेवा, पोषण पुनस्र्थापन गृह, नजिकै क्षयरोगीहरुलाई औषधी खुवाउने क्षयरोग निवारण केन्द्र र रक्त सन्चार केन्द्र पनि छ, जहाँ शारीरिक अवस्था कमजोर भएका मानिसहरूको जमघट वढी हुने र तिनैलाई कोरोना भाईरसले वढी प्रभावित पार्ने विज्ञहरुको सुझाव अनुसार सरकारले जमघट नगर्न, भीडभाडमा नजान आव्हान गरिरहेको अवस्थाकाबीच त्यस्ता रोगीहरुको आवागमन हुने ठाउँमा कोभिड अस्पताल बनाउँदा प्रभाव पर्ने भएरै विराटनगरमा पनि कोशी अञ्चल अस्पतालमा नभई कोशी अस्पतालकै नामवाट अन्यत्र कोभिड अस्पताल सन्चालन गरिएको र नारायणी क्षेत्रीय अस्पतालमै कोभिड अस्पताल सन्चालन गर्दा अन्य प्रकारका रोगीहरूले अप्रत्याशित मृत्यूवरण गर्नु परेका दुःखद खवरहरु सुन्दै आएका छौं । तसर्थ कोभिड अस्पताल वनाउने वित्तिकै ती सवै क्षेत्रहरुमा प्रत्यक्ष प्रभाव पर्ने, ती र त्यस्ता शारीरिक अवस्था कमजोर भएका मानिसहरु उपचार गर्न नआउने र आई हालेमा मनोवैज्ञानिक त्रासका वीच आउनु पर्ने हुन्छ । कोभिडवाट बच्नु पर्छ, यसको उपचार हाम्रै घरपायकमा हुँदा अझ राम्रो हुन्छ तर कोभिडका नाउँमा अन्य रोगीहरु विस्थापित हुने अवस्थाले हामीलाई वढी चिन्तित र दुःखित तुल्याएको हुँदा त्यस तर्फ गम्भीर हुँदै अञ्चल अस्पतालको नवनिर्माण जारी रहेको अधुरो भवनमा कोभिड अस्पताल वनाउने कुरामा पुनर्विचार गरियोस् भन्ने जोडदार मागसहित शालीन आग्रह गर्दछौं ।’

मेचीमा धमाधम काम हुँदै

स्थानीयले विकल्पको रूपमा कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र वा चन्द्रगढीमा रहेको खाद्य संस्थानको खाली गोदाममध्ये एकलाई निर्माण गरिनु पर्ने माग गर्दै मेची अञ्चल अस्पताल आसपासका भद्रपुर ५ र ८ का बासिन्दा आन्दोलित भएका छन् ।
यसैबीच कोरोना अस्पताल बनाउन मेची अञ्चल अस्पतालको नयाँ भवनमा धमाधम काम थालिएको छ । त्यहाँ रंगरोगण, झ्यालढोका , पार्टेशन, शौचालय , मार्बल लगायतका काम थालिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्