दमक, जेठ १६ । अन्तरजातीय विवाहका कारण रुकुमपश्चिमको चौरजहारीमा दलित समुदायका ६ जना युवाको हत्या गरिएको भन्दै झापाका दलित अगुवाहरुले आज दमकमा विरोध प्रदर्शन गरेका छन्।्

विभिन्न संघसंस्थाका प्रतिनिधि तथा दलित अगुवाहरुको अगुवाईमा दमकमा लकडाउन छिचोल्दै प्रदर्शन गरिएको हो । जुलुशका सहभागीहरुले जातीय विभेदका आधारमा जघन्य अपराध भएको भन्दै संलग्न सवैलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरे।
जुलुशपछि दमकको गणतन्त्र चोकमा भएको कोणसभामा नेपाल मानव अधिकार संगठनका केन्द्रीय महासचिव डा.केपी सुवेदी, नेपाल मानवअधिकार प्रतिष्ठान झापाका अध्यक्ष डा. नवीन चापागाँई, दमक नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम बयलकोटी, नगरपालिका न्यायिक समिति सदस्य मीना विश्वकर्मा, दलित अगुवा हरि दर्जीलगायतले बोलेका थिए । उनीहरुले कानुनीरुपमा दण्डनीय र मानवीयरुपमा कलंकित जातीय विभेद गरी दलित युवाहरुको सामूहिक हत्या हुँदा पनि छानविन प्रकृया सुस्त भएको भन्दै आक्रोश पोखेका थिए ।
नवराज विश्वकर्मा हत्याविरुद्ध गठित संघर्ष समितिका संयोजक काशी खाँतीको संयोजकत्वमा भएको सो प्रर्दशनमा विभिन्न प्लेकार्ड बोकेर दमक चौकदेखि वजारसम्म र्याली निकालिएको थियो ।
जुलुश र कोणसभापछि प्रदर्शनका अगुवाहरुले ईलाका प्रशासन कार्यालय दमकमा पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । समितिले ५ सुत्रीय माग अघि सार्दै संसदीय छानविन समिति गठन, पीडित परिवारलाई न्याय र राहत, भयमुक्त समाजको निर्माण तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको कार्यान्वयन गर्न माग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्