मनिषा चम्लागाईँ । झापा, १९ जेठ । पशुपालक किसानले दूधको बजारीकरणका लागि आफूहरूको पहुँच नपुगेकाले पशुपालन व्यवसाय नै धरासायी बन्दै गएको बताएका छन् । बिचौलियाका कारण उत्पादित दूधको बजारीकरणमा समस्या रहेकाले व्यवसाय नै धरासायी बनेको कृषकको गुनासो छ । झापामा दैनिक १ लाख लिटर दूध उत्पादन हुँदै आएको पशुपालन तथा दुध उत्पादन संघ झापाका अध्यक्ष एलपी सिटौलाले बताए ।
उत्पादित दूधमध्ये ४० हजार लिटर झापामै खपत हुँदै आएको छ । अन्य दुध भारत र मोरङको बजारमा जाने उनको भनाइ छ । “दूध उत्पादन गर्ने किसानले उचित मूल्य पाउन सकेका छैनन्”, सिटौलाले भने, “कृषकले ५० रुपैयाँ प्रतिलिटर बिक्री गरेको दुध उपभोक्ताको भान्सामा पुग्दा प्रतिलिटर ८० रुपैयाँसम्म पर्छ आधा मूल्य बिचौलियाका हातमा पर्छ, स्वयम् कृषकले नै उपभोक्ता माझ पु¥याउने वातावरण सिर्जना नभएसम्म हामी कृषकले उचित मूल्य पाउन सक्दैनौँ ।”
सोमबार १८ औँ विश्व दूध दिवस मनाइए पनि दूग्ध व्यवसायमा रहेको बिचौलियाको हावीको अन्त्य हुन नसकेको सिटौलाले बताए । साथै, भारतबाट आयातित धुलो दूधका कारण नेपालमा उत्पादित दूधले बजार नपाएको गुनासो सिटौलाले गरे । सरकार भारतबाट आयात हुने दुग्धजन्य पदार्थबाट बनिने सबैप्रकारमा खाध्य सामग्री, जुसको आयात रोक्नुपर्ने सिटौलाको भनाइ छ । पछिल्लो समय ५० प्रतिशत पशुमा बाँझोपन, थुनिलो र ८० प्रतिशत पशुमा किर्ना, जुका, नाम्लेको संक्रमण देखिने गरेको कृषकको गुनासो छ । पशुमा यस्ता रोगको न्यूनीकरणका लागि आवश्यक प्राविधिकको अभाव रहेको कृषक बताउँछन् ।
भारतबाट आयातित धुलो दूधका कारण नेपाली कृषकले उत्पादन गर्दै आएको दूध विस्थापित हुँदै गएको इलाम दुग्घ उत्पादक सहकारी संस्थाका सञ्चालक पशुराम सापकोटा बताउँछन् । सहकारीमा दैनिक १ हजार लिटर दुध संकलन हुने गरेको छ । “भारतमा अखाध्य मानिने पाउडर नेपालमा प्रयोग गरिन्छ” उनले भने, “नेपालका केही दूध प्रशोधन केन्द्रले, सस्तो मूल्यमा भारतबाट पाउडर ल्याएर बिक्री गर्ने गरेका छन्, यसको प्रत्यक्ष असर कृषकलाई परेको छ ।” सापकोटाले भने, “भारतबाट आयात हुने पाउडर रोकेर नेपालमा नै पाउडर उद्योग स्थापना नगरेसम्म नेपालमा पशुपालन व्यावसायिक बन्न सक्दैन ।” उनले पशुपालनमा प्राविधिकको अभाव रहेकोसमेत बताए ।
इलामको सुर्योदय नगरपालिका –३ पशुपतिनगरको लक्कि चिज डेरी डेरी पशुपतिनगरका सञ्चालक तुलु तामाङ ढुवानीमा समस्या हुने गरेको बताउँछन् । पोखरा, चितवन, काठमाडौंलगायतका शहरमा चीज निर्यात गर्दै आए पनि काठमाडौंमा भण्डार गर्ने स्थान नहुँदा चीज व्यापारीलाई सुम्पनुपर्ने स्थिति रहेको उनले गुनासो गरे । नेपालमा उत्पादित चीजको माग विदेशी बजारमा भए पनि पु¥याउन नसकेको तामाङले बताए । गुणस्तरीय चीज उत्पादन र चीजको अन्तर्राष्ट्रिय बजारीकरणका लागि सरकारले लगानी गर्न आवश्यक रहेको तामाङ बताउँछन् । डेरी ११ वर्ष अघिदेखि सञ्चालनमा आएको होे ।
लगानी डुब्यो
कनकाई नगरपालिकामा सूर्योदय पशुकृषि फर्म सञ्चालनमा ल्याएका हरी कार्की पशुपालन व्यवसायबाट १ कारोड रुपैयाँ बराबरको लगानी डुवेको बताउँछन् । कार्कीले फर्ममा १ सय १५ वटा गाईभैंसी पालेका थिए । घाँसको अभाव र पराल खुवाउनुपर्ने बाध्यताले दूध उत्पादनमा कमी आएसँगै व्यवसाय घाटामा गएको कार्की बताउँछन् । लगानी नडुबाउनका लागि अबको पशुपालनमा साइलेस प्रविधि तर्फ ध्यान दिनु पर्ने उनको भनाइ छ । “दैनिक ९ सय लिटर दूध उत्पादन गर्थे, दूध धेरै भएपछि दूध डेरीले पनि विभिन्न आरोप लगाएर दूध लिन छाड्यो” कार्कीले भने, “उत्पादित दूधको उचित मूल्य नपाएकाले पनि व्यवसायबाट पलायन हुनु प¥यो ।” खरिद गरिएका गाई पनि ५० प्रतिशत मूल्य घटेर बिक्री गरेको उनी बताउँछन् । “डेढलाख परेका गाईँ ५० हजारमा पनि बेच्नु प¥र्यो ।” कामदारको अभावले पनि व्यवसाय छोड्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।
इजरायल, न्युजिल्यान्डलगायत विकसित देशमा गरिएको पशु नश्लसुधार तथा कृषिमा गरिएको आधुनिकीकरण अवलोकन गर्ने अवसर किसानले पाउनु पर्ने उनी बताउँछन् । “फर्मबाट उत्पादित गोबर तथा मूत्रको उचित व्यवस्थापन गरी विदेशबाट आयातित रसायनिक मललाई विस्थापित गर्न सक्ने उच्च प्रविधिको धुलो मल तयार गर्ने कार्यक्रम सरकारले ल्याउन सके यस व्यवसायबाट फाइदा लिन सकिन्छ” कार्कीले भने । किसानका लागि सरकारले ल्याएका नीति तथा कार्यक्रम बजेट भाषणमा मात्र सिमीत हुनु अर्को दुःखद पाटो रहेको कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्