धुलाबारी , असार १६ । झापाको धुलाबारी मावि अहिले बैकल्पिक पठनपाठनको उपाय, खोजी र प्रयोगमा सक्रिय भएको छ ।

ईन्टरनेटको पहुँचमा रहेका विद्यार्थीलाई भर्चुअल कक्षा चलाइरहेको विद्यालयले रेडियोबाट पनि नियमित पठनपाठन गराइरहेको छ । ईन्टरनेटको पहुँचमा नभएका विद्यार्थीलाई स्थानीय तहमा रेडियो साथी मार्फत नियमित पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताए । रेडियोमा विषय शिक्षकले आफैं कक्षा लिने गरेका छन् । भर्चुअल कक्षामा पनि विषय शिक्षकले समय तालिका नै बनाएर कक्षा लिने गरेको सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले बताए । भर्चुअल, रेडियो कक्षा सञ्चालन सँगसँगै विद्यालयले विभिन्न टिभीमार्फत सञ्चालन भइरहेका कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको छ । विद्यालयको सहयोगमा सरकारले निर्माण गरेका पिडिएफ कोर्ष पनि विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयले आफ्नो आधार क्षेत्रका विद्यार्थीलाई रेडियो वितरण गरिरहेको छ । सात वटा आमा समूहमार्फत २८ वटा रेडियो वितरण कार्य जारी राखेको छ । विद्यालयले हालसम्म १६ वटा रेडियो वितरण गरिसकेको छ । ईन्टरनेट र टिभीको सहज पहुँचमा नभएका विद्यार्थीलाई पठनपाठनमा नियमित सहभागी गराउन रेडियो वितरण गरिएको प्रअ लुइँटेलले बताए । उनले आवश्यकता हेरेर थप रेडियो वितरण गर्न सकिने जनाए । अधिकांश विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिसकेको विद्यालयले सम्बन्धित विद्यार्थीलाई विषय शिक्षकको मोबाइल नम्बर उपलब्ध गराएर पठनपाठनमा सहजीकरण गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्