झापा , असार ३१ । ट्रक तथा ढुवानी व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

सरकारसँग आज तीन बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका हुन् । राजश्व व्यवस्थापन महाशाखा प्रमुख , आन्तरिक राजश्व विभाग ,नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीबीच भएको छलफलमा सहमति बनेको हो । स्थायी लेखा नम्बर नलिई करको दायराभन्दा बाहिर रहेका ट्रक व्यवसायीहरुलाई स्थायी लेखा नम्बर लिनका लागि आन्तरिक राजश्व विभागले मिलाउने , भाडामा दिएको रकममा २.५ प्रतिशतका दरले गर्नुपर्ने अग्रिम करकट्टीलाई अन्तिम करकट्टी हुने व्यवस्था गर्ने लगायतका सहमति भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बानियाले जनाएका छन् । ट्रान्सपोर्ट एसोसिएसन मेचीका अध्यक्ष तथा ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य मोहन ढकालले भोलिदेखि ढुवानी सेवा बन्द गर्नेगरीेको आन्दोलन फिर्ता लिएको जानकारी दिए । ढुवानी भाडामा सरकारले लागू गराएको करमा एकरुपता हुनु पर्ने आफूहरुको माग रहेको उनले बताए ।

मेची राजमार्ग ढुवानी सेवाका तदर्थ समितिका अध्यक्ष पदमबहादुर तामाङ ( देबरज) ले सामान ढुवानीको भाडा भुक्तानीमा मुल्य समाबेश भएकाले बिल बिजक नभई ट्रान्सपोर्टले भाडा भुक्तानी नगर्ने हुँदा ट्रकवालाको वा सवारीको नाममा पान र भ्याट अनिवार्य हुने भएकोले पान भ्याट भएको सवारी साधनलाई मात्र लोड गर्न सकिने भएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्