बिर्तामोड , साउन १८ । कोरोना भाइरसको महामारी समुदायसम्म फैलिसकेका कारण संक्रमण नियन्त्रणका लागि बिर्तामोडमा लकडाउन गरिने भएको छ ।

बिर्तामोडमा लकडाउन लगाउने विषयमा आज नगरपालिकाले निर्णय गर्दैछ । त्यसका लागि नगरपालिकाको बैठक अहिले बसिरहेको छ । आज रातिदेखि लकडाउन लगाउने गरी निर्णय हुन लागेको बिर्तामोड वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाले बताए । सिटौला काठमाडौंमा रहेका छन् । आफू काठमाडौंमा रहेको र नगर प्रमुख धु्रवकुमार शिवाकोटीले लकडाउन लगाउने विषयमा सल्लाह लिएको उनले जानकारी दिए । लकडाउन कति दिनसम्म लगाउने भन्ने विषयमा नगरपालिकाले निर्णय गर्ने भएको छ । स्वास्थ्यकर्मीहरुले पनि स्थिति काबुभन्दा बाहिर गएको बताएपछि लकडाउनले मात्र नियन्त्रण गर्न सकिने गरी निर्णय गर्न लागेको बैठकमा सहभागी वडा नं ५ का वडाध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । लकडाउनका विषयमा नगरपालिकाले गर्न लागेको निर्णयका बारेमा जानकारी दिन आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरिएको छ । हिजो मात्र प्रहरी चौकी बिर्ताबजारमा कार्यरत एक महिला प्रहरलिाई कोरोना देखिएको थियो । त्यसअघि बाह्रदशीका दुई र इलामका एक संक्रमित बिर्तामोडमा आएपछि संभावित संक्रमणको जोखिम बढेर गएको छ ।

१ प्रतिक्रिया

  1. प्रत्येक वार्डका नागरिक लाई घर घरबाट स्वाब सङ्कलन गरेर पिसिआर गर्नु पर्छ नत्र यो जाबो नगरसिल,वार्ड सिल,लकडाउनले केही खुल्किदैन।के हामी तीन महिना नबसेका हौ र???

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्