कनकाई, कात्तिक ४ । झापाको कनकाईमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल र कनकाई नगर वडा नंं. ७ वडा समितिको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।


नेपालीहरुको महान मौलिक चाडपर्वको अवसर पारेर दुर्गापुरस्थित सामुदायिक भवनमा संचालन गरिएको शुभकामना आदानप्रदानसहितको अन्तरक्रियामूलक कार्यक्रम मञ्चका कनकाई ७ का वडा अध्यक्ष बसन्त मेन्याङ्बोको सभापतित्वमा रहेको थियोे । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले वर्तमानमा उठिरहेको पहिचान सम्बोधन र १०ं१ प्रान्तको माग स्पष्ट रुपमा जातिवादी नभएको बताए । सबैखाले उत्पीडनको बिरुद्ध र मुक्तिको लागि दापसहितको खुकुरी चुनाव चिन्ह रहेको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालमा गोलबद्ध हुन कार्यक्रममा उपस्थित सबैमा आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक पार्टीका उपमहासचिव भानु भट्टराई, प्रशिक्षक झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, प्रान्तीय सचिव राजु राई, कनकाई नगर अध्यक्ष हाङ्बीर कुलुङ राई लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षकद्वयले नेपालको बैकल्पिक शक्तिको रुपमा ०६२ सालमा स्थापित पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालको नव दर्शन “सहअस्तित्ववाद”, पहिचानको आन्दोलनको औचित्य र पहिचान सहितको संघीयतामा लिम्बुवानको सम्भावना, महत्व, रणनीति र भावी कार्यदिशाबारे प्रष्ट पारेका थिए । कार्यक्रममा ३० जना भन्दा बढीलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो । संघीय लिम्बुवान मञ्चका कनकाई नगर वडा नं.७ का उपाध्यक्ष संजिव लकान्द्रीले स्वागत गरेको कार्यक्रममा पार्टीका वडा सदस्य गीता नेम्बाङले औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको संचालन पार्टीका कनकाई ७ का वडा सचिव महेन्द्र कन्दङ्वाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्