भद्रपुर, माघ १४ । तीनवटा स्थानीय तहलाई केन्द्र बनाएर झापामा बुधवारदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप लगाउन सुरु गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले मेची प्रादेशिक अस्पताल भद्रपुर, अनारमनी अस्पताल बिर्तामोड र दमक अस्पताल दमकमा एकैसाथ कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको हो । तीनवटै स्वास्थ्य केन्द्रमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी खोप लगाउन सुरु गरेको जनाइएको छ । मेची प्रादेशिक अस्पतालमा भद्रपुरमा डाक्टर मनिष सुवेदीले पहिलो खोप लगाएर उद्घाटन गरेका थिए ।

दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाई, तेस्रो खोप स्वास्थ्य कर्मचारी बालकृष्ण भण्डारी, चौथो खोप भद्रपुरका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराई र पाँचौँ खोप अस्पतालका ल्याब टेक्निसियन रमेश भण्डारीले लगाएका थिए । देब्रे पाखुरामा स्वास्थ्यकर्मीले उनीहरूलाई खोप लगाएका थिए । त्यसपछि क्रमशः स्वास्थ्यकर्मी र महिला स्वयमसेविकाहरुले लगाएका थिए । खोप उद्घाटन कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले प्रमाणित गरिसकेको ‘कोभिशिल्ड’ खोपको विषयमा विभिन्न भ्रामक प्रचारप्रसार भइरहेकोले त्यसको पछि नलाग्न आग्रह गरे ।
डब्लुएचओले प्रमाणित गरिसकेका खोप सबैले निर्धक्क भएर लगाउन उनले सबैलाई अनुरोध गरे । झापा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले कोरोनाको महामारीबाट बच्न सरकारले कोरोनाविरुद्धको खोप ल्याएको र यस अभियानलाई सफल बनाउन सबै लाग्नु पर्ने बताए । त्यस्तै मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले खोप लगाएपछि कसैमा कुनै स्वास्थ्य समस्या देखा परे सरकारकै निर्देशन बमोजिम अस्पतालमा त्यसको सम्पूर्ण तयारी पूरा गरिसकेको बताए । यता स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलका अनुसार झापामा ११ हजार डोज खोप प्राप्त भएको छ ।

स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शबबाहनका चालक, सुरक्षाकर्मी र व्यवस्थापकीय कार्यमा खटिएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने कार्यक्रम सुरु भएको बताउँदै उनले भने, ‘पहिलो चरणमा ९ हजार २ सय ७३ जनालाई खोप लगाउने पहिलो टार्गेट हो ।’
उनका अनुसार मेची अस्पतालमा भद्रपुर, मेचीनगर, हल्दिबारी र कचनकवल पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ । अनारमनी अस्पतालमा बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, झापा, कनकाई र बाह्रदशी पालिका र दमक अस्पतालमा दमक, गौरादह, गौरीगञ्ज, कमल र शिवसताक्षी पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको बताए । आधा मिल लिटर मात्रामा खोप पाखुराको मासुमा लगाइने र दोस्रो खेप चार हप्तापछि लगाइने उनले बताए । खोप लगाउन स्वास्थ्यकर्मीहरूलाई तालिम दिइसकेको उनको भनाई छ । बिर्तामोडस्थित अनारमनी अस्पतालमा पहिलो खोप डाक्टर हेमन्त राठीले लगाएका छन् । राठीले बिर्तामोडमा लावण्य स्किन हेल्थ केयर सेन्टर सञ्चालन गर्दै आएका छन् । बिर्तामोडको खोप अभियानको शुभारम्भमा नगरपालिका मेयर ध्रुव शिवाकोटीलेलगायतको उपस्थिति रहेको थियो । त्यस्तै दमक अस्पतालमा पहिलो खोप डाक्टर नवीन ढकाल लगाएका थिए । दमकमा खोप अभियानको शुभारम्भ कार्यक्रममा राष्ट्रीयसभा सदस्य देवेन्द्र दाहाल, दमकका मेयर रोमनाथ ओलीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्