भद्रपुर, चैत ९ । ओझेलमा पर्दै गएको कबड्डी खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले भद्रपुर नगरपालिकाले सोमबारदेखि वडास्तरीय कबड्डी प्रतियोगिता सञ्चालन गरेको छ ।

भद्रपुर नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कप वडास्तरीय नकआउट कबड्डी प्रतियोगिता सञ्चालन भएको हो ।
मेची रंगशालाको कभर्ड हलमा १ नं प्रदेशसभा सदस्य बसन्त बानियाँ र नगरप्रमुख जीवनकुमार श्रेष्ठले संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेश अध्यक्ष टिकाराज ढकाललगायत विभिन्न खेल विधाका प्रशिक्षकहरु समेतको सहभागिता रहेको थियो ।
प्रतियोगिताको पहिलो दिन पुरुष र महिलाका गरी ५ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।
कबड्डी उपसमिति संयोजक रतिया राजवंशीले भद्रपुरको १० वटै वडाले सहभागिता जनाएको बताउँदै महिला तथा पुरुषको छुट्टाछुट्टै खेल संचालन भइरहेको जानकारी दिए ।
चैत १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगदसहित शील्ड, मेडल र ट्रफी प्रदान गरिेने आयोजक समितिका संयोजक श्यामकुमार राउतले जानकारी दिए ।
प्रतियोगितामा महिला खेलाडीका लागि ७५ केजी र पुरुष खेलाडीका लागि ८० केजी सम्मको तौल निर्धारण गरिएको राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्