दमक, बैशाख ३ । झापाको कमल गाउँपालिका वडा नम्बर ६ स्थित वडा कार्यालयमा शुक्रवार आयोजना गरिएको रक्तदानमा ३६ पिन्ट रगत संकलन भएको छ ।

नयाँ वर्ष २०७८ को उपलक्ष्यमा सहकारी समन्वय समिति कमल ६ वडा समितिले आयोजना गरेको रक्तदानमा ६ महिलासहित ३६जनाले रगत दान गरेका हुन् । रक्तदान जीवन दान भन्ने सन्देसका साथ आयोजना गरिएको खुला रक्तदानमा वडाध्यक्ष नगेन्द्र भट्टराई ,दमक बहुमुखी क्याम्पसकाउपप्राध्यापक त्रिलोचन अधिकारीलगायतले रगत दिएको आयोजक संस्था सहकारी समन्वय समिति कमल ६ का सचिव सागर रेग्मीले बताए ।
रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्त सञ्चार सेवाकेन्द्रको प्राविधिक सहयोगमा भएको थियो भने रक्तदाताहरुलाई गाउँँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटी, सहकारी समन्वय समितिका अध्यक्ष धरणीप्रसाद भण्डारीलगायतले प्रशंसापत्र प्रदान गरेका थिए ।
यसैबीच नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले शुक्रबार कमल ६ स्थित वडा कार्यालयमा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
उपशाखासहित स्थानीय सहकारी संस्थाहरुको सहआयोजना तथा आम्दा अस्पताल दमक र ओम शान्ति डेन्टलको प्राविधिक सहयोगमा एकदिने बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा त्यस क्षेत्रका तीन सयबढी विरामीहरु लाभान्वित भएको रेडक्रस सचिव पारसमणि राईले जानकारी दिए ।

शिविरमा स्त्री रोग,बाल रोग छाला ,दन्त रोगसम्बन्धी विशेषज्ञ सेवा रहेको थियो । विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको रेडक्रस सभापति चन्द्र शाहले बताए । औषधी आम्दा अस्पतालले उपलव्ध गराएको थियो ।
शिविर सम्पन्न गर्न स्थानीय लखनपुर साना किसान सहकारी संस्था, चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था, सुम्निमा कृषि सहकारी संस्था,स्वर्णकमल बचत तथा ऋण सहकारी संस्थाले समेत सहयोग पुर्याएका थिए ।
शिविरमा रेडक्रस १ नम्बर प्रदेश समितिका कोषाध्यक्ष ओमप्रकाश गौतम, कमल ६ का वडाध्यक्ष नगेन्द्र भट्टराई ,रेडक्रसकर्मीहरु,सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्