दमक, बैशाख ८ । दमक ४ मा रहेको वशिष्ठ संस्कृत गुरुकुल विद्यापिठ परिसरमा दमकका भट्टराई परिवारले शिवालय मन्दिर निर्माण गरिदिने भएका छन् ।

ताप्लेजुङ तेल्लोकका महाजन स्व. भर्तध्वज भट्टराईका सन्तानहरुले उक्त शिवालय निर्माण गरिदिन लागेका हुन् । दमक क्षेत्रमा रहेर सामाजिक कार्यमा सक्रिय भर्तध्वजका नातिहरु भिम भट्टराई, प्रेम भट्टराई, सुवास भट्टराई, राजकुमार भट्टराई, हरि भट्टराईलगायतको सक्रियतामा शिवालय निर्माण गर्न लागिएको सो परिवारका अगुवा भिम भट्टराईले बताए । गुरुकुल परिसरमै पर्ने ३ कट्ठा जमिन खरिद गरी शिवालय निर्माणको तयारी गरिएको भर्तध्वजकी नातिनी बुहारी सकुन्तला भट्टराईले जानकारी दिईन् । मन्दिर निर्माणका लागि करिब ३२ लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिएको उनले बताईन् । भट्टराई कुल वंश प्रतिष्ठानका अगुवाईमा गुरुकुल परिसरमा बुधबार बिहान एक कार्यक्रम गरी शिवालयको शिलान्यास गरिएको छ । महाजन भर्तध्वजकी कान्छी बुहारी मायादेवी भट्टराईको हातबाट शिवालयको शिलान्यास गरिएको छ । गुरुकुलका संस्थापक अध्यक्ष तथा भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष कृतिका भट्टराई, प्रतिष्ठानका पूर्व केन्द्रीय कोषाध्यक्ष राजकुमार भट्टराई, गुरुकुलका प्राचार्य चेतन आचार्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्