कुमरखोद, फागुन २ । झापा गाउँपालिकाको वडा नं ४ झापा बजारनजिकै रहेको शिवालय मन्दिरमा एक हप्ते रमाईलो मेला लाग्ने भएको छ ।

शिवालय मन्दिर क्षेत्रमा प्रत्येक वर्षको फागुन महिनाको कृष्ण चतुर्दशीका दिन शिवरात्रीमा भव्य मेला लाग्ने गर्दछ । शिवरात्री पर्वको अवसरमा फागुन ४ देखि १० गतेसम्म मेला लाग्ने आयोजकले जनाएको छ

शिवालय मन्दिरको निर्माण १९९२ सालमा गणेश परिवारका चार समाजसेवीले गरिदिएका थिए । साविक टाँघनडुब्बा निवासी स्व. मोहनलाल गणेश , फागुलाल गणेश , गंगा गणेश र साधु गणेशले शिवालय मन्दिर र शिवलिङ्गको निर्माण गरिदिएका हुन् । त्यसैगरी शिवालय निर्माणका लागि स्व.सत्यनारायण अग्रवालले लगभग ८ कठ्ठा जग्गा मन्दिरलाई दान दिएका थिए । शिवालय मन्दिर क्षेत्रमा रामजानकी मन्दिर र हनुमान मन्दिर पनि निर्माण गरिएको छ । रामजानकी मन्दिरको निर्माण रुकमणी सुवेदीले आफ्ना स्व. पति सचिदानन्द सुवेदीको स्मृतिमा २०६७ सालमा निर्माण गरिदिएकी थिइन् भने हनुमान मन्दिरको निर्माण चन्द्रगढी निवासी मोहनलाल राजवंशीकी धर्मपत्नी मीनादेवी राजवंशीले २०४८ सालमा निर्माण गरिदिएकी हुन् ।

अभिलेख अनुसार शिवालय मन्दिरको नाममा अहिले १४ विगाह ३ कठ्ठा १९ धुर जग्गा रहेको शिवालय मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद राजवंशीले बताए । जग्गाबाट उठेको आम्दानीबाट मन्दिरको व्यवस्थापन र पुजारीलाई लाग्ने सम्पूर्ण पूजापाठका सामग्रीहरु उपलब्ध गराउँदै आएको सचिव राजवंशीले बताए ।

शिवालय मन्दिरलाई अहिले बेहुलीजस्तै सजिसजाउ गरिएको छ । मेलालाई व्यवस्थित गर्न र मेला भर्न आउने भक्तजनको सुविधालाई मध्यनजर राखेर सुरक्षा व्यवस्थाका लागि जनपद प्रहरी ,सशस्त्र प्रहरीसँग समन्वय गरिनुका साथै प्रत्येक टोल–टोलबाट स्वयंसेवक परिचालन गरिने मेला समितिका संयोजक राजुजंग भारतीले बताए । शिवरात्री पर्वको दिन फागुन ६ गतेदेखि ४८ घण्टे अष्टजाम लगाउने तयारी गरिएको भारतीले जानकारी दिए । रमाईलो मेलालाई आकर्षक बनाउनका लागि रोटेपिङ , व्रेकडान्स , वटरफ्लाई , ड्रागन खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्