झापा, फागुन २७। साविक १ नं प्रदेशलाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको माग गर्दै विभिन्न राजनीतिक दल र जातीय संगठनहरुले आन्दोलन चर्काएका छन् ।

उनीहरुले झापासहित पूर्वका १४ जिल्लामा सडक संघर्षका कार्यक्रम घोषणा गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु विरोधमा उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संगठनले शनिवार साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राँके जुलुस प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामांकन अभियानबीच पार्टी एकीकरण भएसंगै आन्दोलनका कार्यक्रम अघि बढाइएको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले बताए । ती पार्टीबीच निम्न बुँदामा सहमति भएका छन् । नेपालको औपनिवेशिक, एकात्मक, एकल जातीय राज्य संरचनाको अन्त्य गरी नेपालको ऐतिहासिक जातीय पहिचानको आधारमा स्वायत्त राज्य, स्वायत क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्र एवं गैर–भौगोलिक स्वायत्तता एवम् स्वशासनसहितको संघीय लोकतान्त्रिक बहुराष्ट्र राज्य नेपाल स्थापना गर्ने, राज्यको हरेक अंगहरुमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी र सहभागितामुलक प्रतिनिधित्व एवं पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सिद्धान्त लागू गर्ने , नेपाली समाजको आमूल रुपान्तरण गर्न स्वदेशवाद , बहुलराष्ट्रवाद बहुजातीय, सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्त एवं विचार अंगिकार गरे नयाँ इन्द्रेणी समाज निर्माण गर्ने ,आन्दोलन र संघर्षको माध्यमबाट नेपालको संविधान २०७२ पुनर्लेखन तथा संशोधन गर्ने, बहुलराष्ट्रिय विद्रोहमार्फत नेपालको राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्ने , लिम्बुवानसँग भएको ५ बुँदे सहमति, संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा ,आदिवासी जनजाति, मुस्लिम, पिछडावर्ग, थरुहट, मधेसीलगायतका आन्दोलनहरु र सरकारबीच सम्पन्न भएका सहमति तथा संझौताहरु कार्यान्वयन गर्ने, कोशी प्रदेश नामांकन खारेज गरी प्रदेश १ को पुनः नामांकनको लागि सशक्त आन्दोलन गर्ने रहेका छन् ।

उनीहरुबीच पार्टी एकताको विधि तथा प्रक्रिया तय गरिएको छ । एकताको सम्पूर्ण प्रक्रिया पूरा नभइन्जेलसम्मको लागि राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा प्रत्येक संगठनको अध्यक्ष र पदाधिकारीहरुसहितको पार्टी एकता कार्यसम्पादन समिति गठन गरिनेछ । कार्यसम्पादन समिति मध्येबाट एक कार्यकारीणी परिषद गठन गरिनेछ । जिल्ला र पालिका तहसम्म एकतामा सहभागी संगठनहरूको प्रतिनिधित्व रहेको पार्टी एकता संयोजन समिति निर्माण गरिनेछ ।
एकिकृत पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, पार्टीको विधान, घोषणा–पत्र, आचारसंहितालगायतका प्राविधिक पक्षहरु कार्यसम्पादन समितिले तय गर्नेछ । सहमतिपछि एकीकृत पार्टीलाई दल दर्तासम्बन्धी ऐन अनुसार आवश्यक प्रक्रियाहरु मिलाई निर्वाचन आयोगमा दल दर्ता गरिनेछ । विचार, सिद्धान्त र मुद्धा मिल्ने विभिन्न राजनीतिक पार्टीहरू, समूह वा व्यक्तिहरुसंग निरन्तर छलफल र वाता गरी एकता, मोर्चा एवं कार्यगत एकताको प्रक्रियामा ल्याउन राजमुपाका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको संयोजकत्वमा वार्ता समिति गठन गरिनेछ । साथै एकताको सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी ६ महिनादेखि १ वर्ष भित्रमा एकताको महाधिवेशन सम्पन्न गरिनेछ ।एकता सहमतिको घोषणापत्रमा केपी पालुङ्वा अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी, सन्जुहाङ पालुङ्वा अध्यक्ष संघीय लिम्बूवान पार्टी, , त्रिनारायण राजवंशी संयोजक कोचिला संघर्ष समिति समिति,रघुनाथ खम्बु उपाध्यक्ष संघीय खम्बुवान लोकतान्त्रिक पार्टी , भक्त खेवाङ अध्यक्ष लिम्बूवान राष्ट्रिय समिति, लोसपा र प्रेमदीप थाम्सुहाङ लिम्बू संयोजक किरात लिम्बुवान प्रदेश नामांकन अभियानले हस्ताक्षर गरेका छन् । एकताको सहमति घोषणा गर्न आयोजित कार्यक्रममा नेताहरुले फागुन २८ गतेको बन्द सफल पार्न आव्हान गरेका छन् । उनीहरुले चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा जनप्रदर्शन गर्ने घोषणा गरेका छन् ।

त्यस्तै कोशी प्रदेश खारेजीको लागि प्रदेश न. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पनि फागुन २८ गते प्रदेश बन्दको घोषणा गरेको छ । जसका लागि नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको संयोजकत्वमा संघर्ष समिति तयार गरिएको छ । जसको सदस्यहरुमा ३४ वटा जातीय संगठनका अध्यक्षहरु रहेका छन् । उनीहरुले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनमा सहभागी घटकको नाम समेत सार्वजनिक गरेका छन् ।

समितिले विभिन्न संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । फागुन २५ र २६ प्रदेशव्यापी कालो झण्डा गाड्ने , कोणसभाहरू गर्ने । स्थानीय तहलगायतका सरकारी कार्यालयहरूमा तालाबन्दी गर्ने , कोशी नामका बोर्डहरू हटाउने ,कोशी नामका लेटरप्याडहरू जलाउने, कोशी प्रदेश नाममा मत हाल्ने सांसदहरूलाई प्रतिकार गर्ने , वडा तहसम्म संघर्ष समिति विस्तार गर्ने , पर्चा तयारी एवम् वितरण गर्ने, भित्ते लेखन गर्ने, उद्योगी, व्यवसायी, व्यापारी, यातायात व्यवसायीलगायतका व्यक्ति एवम् संस्थाहरूसँग समन्वय गर्ने । फागुन २७ प्रदेशव्यापी राँके जुलुस गर्ने । फागुन २८ गते प्रदेशव्यापी आमहडताल गर्ने र चैत ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गर्ने रहेको छ ।त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको लिम्बुवान भोलेन्टियर्सले पनि फागुन २८ गते बन्दको आव्हान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्