झापा, चैत ११ । त्रिभुवन आर्मीलाई सडनडेथमा ६–५ गोलले हराउँदै जावलाखेल युथ क्लब गएराति सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

विराटनगरको सहिद मैदानको फ्लड लाईटमा भएको रात्रिकालीन खेलमा निर्धारित र अतिरिक्त समयमा दुवै टिमले गोलरहित खेले । खेलको निर्णय टाइब्रेकरबाट गर्दा पनि बराबरी भएपछि सडनडेथमा पुगेको थियो ।

जावलाखेलको तर्फबाट सीमान्त थापा, फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरेका थिए ।
आर्मीको तर्फबाट टंक बस्नेत, टेकबहादुर बुढाथोकी, जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ आङ्देम्बेको प्रहार बाहिरिँदा आर्मी घर फर्किन बाध्य भयो ।

खेलको म्यान अफ द म्याच जावलाखेलका सीमान्त थापा भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते सेमिफाइनल खेल खेल्ने छ । जावलाखेललाई दबाबमा राखेर खेलेको आर्मीले पटक–पटक सिर्जना गरेका गोलका अवसर सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट पहिलो खेलबाटै बाहिरिन बाध्य भयो । आज राति साविक विजेता सशस्त्र प्रहरी र पाहुना टोली भुटानको ड्रुक लयुल फुटबल क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्