झापा, चैत १९ । असिनासहित आएको हावापानीले झापाको कन्काई नगरपालिकामा मात्र २२ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा क्षति पुर्याएको छ ।

असिनासहितको हावापानीले बालीनालीमा गरेको क्षतिको तथ्यांक संकलन गर्नेक्रममा कन्काईमा २२८७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको देखिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसहित प्राविधिकहरुको टोलीले हिजो क्षति संकलन गरेको थियो ।

क्षति पुगेको कुल क्षेत्रफलमध्ये आधाजतिमा बालीनाली रहेको छ । कन्काईमा करिव ११४३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले बताए । त्यसमध्ये ९० प्रतिशतमा पूर्ण क्षति र १० प्रतिशतमा आंशिक क्षति पुगेको उनले जानकारी दिए । बालीनालीमा सबैभन्दा बढी क्षति मकै बालीमा पुगेको शिवाकोटीले बताए । ‘करिव ११४३ हेक्टर मकै बालीमा क्षति पुगेको छ’उनले भने,‘ थोरै क्षेत्रफलमा तरकारी बालीमा पनि क्षति पुगेको देखिन्छ ।’ त्योसंगै कन्काईमा घरहरुको छाना उडाएको , असिनाले छाना प्वाल बनाएको ,पशुचौपाया र पंछी मरेको पाइएको छ । आइतवार बिर्तामोड र भद्रपुर नगरपालिकामा भएको क्षतिको विवरण संकलन गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्