विर्तामोड, १३ जेठ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दुई पटक सचिव र एक पटक कार्यसमिति सदस्य चलाइसकेर यस पटक अध्यक्षमा उम्मेदवारी दिएका मेघराज बास्तोलाको विरुद्धमा गलत अपवाह फैलाउन खोजिएको छ ।

बिर्तामोड नगरपालिकाका छैटौं तहका कर्मचारी बास्तोलालाई कर्मचारी आचारसंहिताले अध्यक्षको उम्मेदवार हुन नदिने भ्रम फैलाइएको हो । उनले त्यस अपवाहको पछि नलाग्न सम्पूर्ण खानेपानीका उपभोक्ताहरुलाई अनुरोध गर्दै आफ्नो उम्मेदवारीले कर्मचारी आचारसंहिता नमिचिएको स्पष्ट पारेका छन् । शनिवार पत्रकार सम्मेलन गर्दै अध्यक्षका उम्मेदवार बास्तोलाले कोशी प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्रमा आर्थिक लाभ वा कुनै सुविधा नलिने, काममा बाधा नपर्ने र स्थानीय तहको अहित नहुने गरी आफ्नो गैर राजनीतिक प्रकृतिको सामाजिक संस्थामा आबद्ध हुन पाउने व्यवस्था रहेको स्पष्ट पारे । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सामाजिक संस्था हो । यही जेठ १५ गतेका लागि निर्धारित निर्वाचनका लागि गत जेठ ५ गते निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो । जेठ ५ गते प्रथम मतदाता नामावली प्रकाशित भएको थियो भने जेठ ८ गते उम्मेदवारमाथि दावी विरोध गर्न पाउने समय तोकिएको थियो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएर दुवै प्यानलका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिरहँदा लोकतान्त्रिक राष्ट्रवादी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार बास्तोलाको विरुद्धमा भ्रम फैलाइएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताए ।

केही सञ्चारमाध्यममा बास्तोलाको उम्मेदवारीका विषयलाई लिएर समाचार प्रकाशन भएको थियो । बिर्तामोड नगरपालिकाकामा कार्यरत आफू संघीय सरकारको कर्मचारी नरहेको बताउँदै बास्तोलाले स्थानीय तहको अन्य कर्मचारी दरवन्दीमा कार्यरत रहेको हुँदा प्रदेश राजपत्र खण्ड ७ को उपदफा ३ को १ को क, ख, ग , घ, ङ, र च अनुसारका कार्य गर्न कुनै वाधा नपुग्ने राजपत्रमा नै स्पष्ट भएको जानकारी दिए ।

अघिल्लो निर्वाचनमा दोब्बरबढी मतले उनी दोस्रो कार्यकालका लागि सचिव पदमा निर्वाचित भएका थिए । त्यतिबेला उनले १८३८ मत ल्याउँदा उनका प्रतिष्पर्धीले करिव ८ सय मत मात्र पाएका थिए । निर्वाचनमा विजयी हुने संभावित उम्मेदवार बास्तोलाले चुनावी बखत पराजित मानसिकताले चलाएको राजनीतिक स्टन्टको रुपमा आफूले यसलाई लिएको प्रतिक्रिया दिए ।
साथै उनले उम्मेदवार हुनका लागि विर्तामोड नगरपालिकासंग अनुमति लिन नपर्ने भएकाले आफूले अनुमति नलिएको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्