झापा, जेठ ३१ । नेपाली राष्ट्रिय फुटबल टोलीकी सावित्रा भण्डारी ‘साम्बा’ इजरेली शीर्ष डिभिजनको फुटबल क्लब हापोएल रानानाबाट खेल्न अनुबन्धित भएकी छन्।

सावित्राले आगामी सिजन हापोएलबाट खेल्ने सम्झौता गरेकी हुन्। हापोएलले मंगलबार सावित्रालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ। भारतीय शीर्ष डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको अत्यधिक चर्चा भएको थियो । सावित्राले आई लिगमा खेलेका १० खेलमा २९ गोल गर्दै गोकुलम केरलालाई च्याम्पियन बनाउन  महत्वपूर्ण भूमिका निर्वाह मात्र गरिनन् सर्वाधिक गोलकर्ताको अवार्डसमेत जितेकी थिइन् । सावित्राले भारतमा दुई फरक क्लबबाट खेल्दै ३ वटा लिग उपाधि जितिसकेकी छन् । गोकुलमबाट खेल्नुअघि उनले सेथु एफसीबाट आई लिग खेलेकी थिइन् । आई लिगमा उनले लगातार गरेको सानदार प्रदर्शनपछि युरोपेली क्लब हापोइलको नजर उनीमाथि परेको हो । घरेलु लिगमा विभागीय टोली सशस्त्रको एपिएफ फुटबल क्लबबाट खेल्ने सावित्राले यसअघि माल्दिभ्समा पनि खेलिसकेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्