झापा, मंसिर ८ । पौराणिक महत्व बोकेको झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा श्रीमद् देवीभागवत महापुराण धनधान्याचल विराट ज्ञानमहायज्ञ शुरु भएको छ ।

गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलमा आयोजित महायज्ञको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज उद्घाटन गरेका छन् ।

महायज्ञमा चर्चित कथावाचक इश्वरकृष्ण जी महाराजको उपस्थितिमा सन्तोष रामानुजको प्रमुख कथावाचन रहने महायज्ञ आयोजक मूल समितिका संयोजक बेदमणि दाहालले बताए । उनले १०८ शिवलिङ्गसहितको शिवालय निर्माण , कन्चनगढधाम साधुकुटीको विकास र गुरुकुललाई व्यवस्थित गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको जानकारी दिए ।

संस्थाको ३४ औं धार्मिक अनुष्ठान तथा गुरुकुलको १७ औं वार्षिकोत्सवअन्तर्गत बालाचतुर्दशीको अवसर पारेर मंसिर १६ गतेसम्म महायज्ञ सञ्चालन हुने मन्दिरका महासचिव पुष्प भट्टराईले जानकारी दिए ।

कोशी प्रदेशका मुख्यमन्त्री तथा एमालेका स्थायी कमिटी सदस्य कार्की बाह्रदशीको अन्य कार्यक्रममा पनि सहभागी भएका थिए । उनी वडा नं ६ अन्तर्गतको अपांगता रोकथाम तथा पुनःस्थापना अभियानको समापन कार्यक्रममा सहभागी भए भने वडा नं ५ मा अवस्थित निर्माणाधिन प्रशासकीय भवनको अवलोकन गरेका थिए । त्यस्तै उनले वडा नं ३ कोनाबारीस्थित अदुवा खोलाको काठेपुलको अवस्थाबारे जानकारी लिएका छन् ।

साथै वडा नं २ मा निर्माण स्थगित बाह्रदशी सामुदायिक अस्पताल,कुटु बस्तीबाट भानु चोक हुँदै चकचकी बजार जोड्ने सडक ,चकचकी बजारबाट सुबास गाउँ, डाँगीबारी बजार हुँदै सिमल चोकसम्मको सडकको पनि उनले निरीक्षण गरेको एमाले बाह्रदशी गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्