झापा, मंसिर १० । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि झापामा पनि सुरु भएको छ ।

अभियानका अवसरमा आज बिहान सदरमुकाम भद्रपुरमा प्रभातफेरि निकालिएको छ । जिल्ला समन्वय समितिको प्रांगणबाट शुरु भएको प्रभातफेरि ट्रेड युनियन चोक ,लेखनाथ चोक , सब्जीबजार हुँदै पुनः जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर समापन भएको थियो । साना हात नेपाल भद्रपुरको आयोजनामा जिल्ला समन्वय समितिका प्रमुख बिश्वनाथ बरालको प्रमुख आतिथ्यमा भएको प्रभातफेरिमा सुरक्षा निकायका प्रमुख , कर्मचारी , जनप्रतिनिधिलगायत गरी करिब ८० जनाको उपस्थिति रहेको थियो । आजदेखि शुरु लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानअन्तर्गत मंसिर २४ गतेसम्म झापामा विभिन्न कार्यक्रम गरिने भएको छ ।

त्यस्तै लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको पहिलो दिन आज मेचीनगरमा पनि प्रभातफेरि निकालिएको छ । मेचीनगर नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाले काँकडभिट्टामा प्रभातफेरि आयोजना गरेको थियो । इलाका प्रहरी कार्यालय परिसरबाट विभिन्न नारा लेखिएका प्लेकार्ड र व्यानरसहित शुरू भएको र्यालीले बाहुनडाँगी रोड, पुरानो सुपारी लाईन, गुराँस पथ, वडा कार्यालय रोड, बसपार्क , मुख्य राजमार्गलगायत काँकडभिट्टा बजारको मुख्य मुख्य स्थानको परिक्रमा गरि पञ्चमुखी हनुमान मन्दिर र लक्ष्मी नारायण मन्दिर परिसरमा पुगेर संक्षिप्त कोण सभामा परिणत भएको थियो ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य र उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा भएको संक्षिप्त कोणसभालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा, महिला जनचेतना केन्द्र मेचीनगरका संस्थापक अध्यक्ष राधा प्रधानलगायतले संबोधन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्