२५६जनाको निःशुल्क आँखा परीक्षण
झिलझिले ,पुष १५ । झापाको शिवसताक्षीस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले १ करोड ८० लाख ५२ हजार ३८५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सोमबार संस्थाको १८औं वार्षिक साधारण सभाको अवसर पारेर गत आर्थिक वर्ष ०८० ÷०८१ मा आम्दानीतर्फ ११ करोड २२ लाख ६६ हजार १५८ रुपैयाँ र खर्चतर्फ ९ करोड ४२ लाख १३ हजार ७७३ रुपैयाँको आर्थिक विवरण सार्वजनिक गरिएको हो।

२०६४ सालमा २५ जना सदस्यले स्थापना गरेको यो सहकारी संस्थाको सदस्य संख्या अहिले ४ हजार ३ सय ८५ पुगेको छ । झापाको दमक, कमल गाउँपालिकाको केर्खा, कन्काई नगरपालिकाको सुरुङ्गा, शिवसताक्षीको मङ्गलबारे र जनता बजारमा सेवाकेन्द्र रहेको संस्थाका कार्यकारी प्रमुख नरप्रसाद ओली (नवीन)ले बताए । गत आर्थिक वर्षको असार मसान्तसम्ममा छिमेकी सहकारीको शेयर पुँजी १४ करोड ९९ लाख २५,९००रुपैयाँ रहेको कार्यकारी प्रमुख ओलीले बताए । उनका अनुसार ४३ करोड ८१ लाख ३ हजार ३८८ रुपैयाँ निक्षेप सङ्कलन भएको संस्थाको विभिन्न कोषमा ९ करोड २ लाख ८१ हजार ६५६ रुपैयाँ रहेको छ ।

साधारण सभामा दिएको जानकारी अनुसार गएको असार मसान्तसम्ममा ६७ करोड ९७ लाख ४१ हजार २७२ रुपैयाँ लरर छ । संस्थाले गत आर्थिक वर्षमा ८७ करोड ६६ लाख ७१ हजार ७१७ रुपैयाँको कारोबार गरेको थियो।

१८औँ वार्षिक साधारण सभाको अवसर पारेर सार्वजनिक गरिएको प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष०८१÷०८२ सावाँतर्फ २३ करोड ५४ लाख ७९ हजार २१३ रुपैयाँ कर्जा असुली गरेको थियो भने ११ करोड ९ लाख२६ हजार ८९४ रुपैयाँ ब्याज असुली गरेको थियो। चालु आर्थिक वर्षमा संस्थाले १२ करोड ११ लाख खुद आम्दानी गर्ने लक्ष्य राखेको छ भने खर्चतर्फ आठ करोड २४ लाख ६० हजार खर्चको लक्ष्य राखेको छ।

शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा, नगर उपप्रमुख नरमाया कार्की, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णु प्रसाई, ६ नम्बर वडाका अध्यक्ष मनोज खुलाल कार्की, वडा नम्बर ८ का अध्यक्ष सन्तकुमार फेउदेन, संस्थाका अध्यक्ष मोहन मैनाली, कार्यकारी प्रमुख नवीन ओलीलगायतले १८ वटा दीप प्रज्वलन गरेर १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख थोप्राले नगरका ३० देखि ३५ हाराहारीका विभिन्न प्रकृतिका सहकारीमध्ये छिमेकी सहकारी तुलनात्मक रूपमा अन्यभन्दा अब्बल रहेको बताए । उनले भने, ‘आर्थिक कारोबार, पूर्वाधार निर्माण, सेवा क्षेत्र, कुशल नेतृत्वका कारण छिमेकी बचत तथा ऋण सहकारी संस्था अन्य सहकारीको तुलनामा अब्बल छ भन्ने कुरामा मलाई दुविधा छैन।’ अरु सहकारी कस्तो हुनुपर्छ भनेर सामान्य ढङ्गले हेर्नका लागि छिमेकी सहकारी काफी भएको उनले बताए ।
छिमेकी सहकारीले गत आर्थिक वर्षमा नेपाल सरकारलाई ५७ लाख राजस्व बुझाएको छ। शिवसताक्षी नगरपालिकामा कारोबार र आम्दानी खर्चका हिसाबले सबैभन्दा बढी राजस्व बुझाउने छिमेकी बचत तथा ऋण सहकारी संस्था सम्भवतः पहिलो सहकारी हो ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, ४ नम्बर वडाका अध्यक्ष विष्णु प्रसाई, ८ नम्बर वडाका अध्यक्ष सन्त कुमार फेउदिनलगायतले छिमेकी बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभाको वार्षिक प्रतिवेदन हेर्ने हो भने बैंक र सहकारीमा खासै भिन्नता आफूहरूले नपाएको बताए ।

सहकारीका सदस्यहरूमा प्राणघातक रोग लागे, सडक दुर्घटनामा परे, शल्यक्रिया, सदस्यको मरणोपरान्त परिवारका सदस्यलाई प्रदान गर्दै आएको मानो चामल र आर्थिक सहायता कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन कार्यविधि निर्माण गरेर कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

संस्थाका उपाध्यक्ष उदयप्रकाश राईले स्वागत गरेको कार्यक्रम अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको थियो। स्थानीय झिलझिले माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न १८ औँ वार्षिक साधारण सभामा ८८५ जना सदस्यको सहभागिता थियो। कार्यक्रमको सञ्चालन सञ्चालक समितिका सदस्यद्वय बिनोद सापकोटा र संगीता कोइराला सुवेदीले गरेका थिए ।
सहकारीका पाँचैवटा अन्य सेवाकेन्द्रमा पनि साधारण सभा भएको थियो ।

यसैबीच वर्षेनि पाँचवटा विधामा सहकारीमा आबद्ध व्यक्तित्वलाई पुरस्कृत गर्दै आएका यज्ञराज ओली (गोपाल) ले यस वर्ष संस्थाका उपाध्यक्ष उदयप्रकाश राईलाई सम्मान गरेका छन्। उनले नगदद्वारा राईलाई सम्मान गरेका हुन् । ओलीले बर्षेनि छिमेकी बचत तथा ऋण संस्थामा आबद्ध इमान्दार कर्मचारी, शेयर सदस्य, असल बचतकर्ता तथा ऋणीलाई जनही नगद ५१०० सहित पुरस्कृत गर्दै आएका छन् । राईलाई नगर प्रमुख थोप्रा, उपप्रमुख कार्की, सम्मान गर्ने व्यक्ति यज्ञराज ओलीले दोसल्ला, फुलमाला, अबिर र सम्मानपत्रद्वारा सम्मान गरेका थिए।

साथै साधारण सभामा एकदिने निःशुल्क आँखा शिविर पनि सञ्चालन गरिएको थियो। ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा २५६ जनाले आँखाको निःशुल्क परीक्षण गराएका थिए। आँखा परीक्षण गराएकामध्ये सय जना जेष्ठ नागरिकलाई सहकारीले निःशुल्क औषधि र चस्मा प्रदान गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्