
झापा,पष २४ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा समेत दक्षिण कोरिया जान नपाएकाहरू आन्दोलनमा उत्रिएका हुन् ।
दक्षिण कोरियाले एचआरडी कोरियामार्फत सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रका लागि ईपीएस मार्फत कामदार माग गरेको थियो, जसमा ३५ हजार नेपालीले आवेदन भरेका थिए । तीमध्ये चार हजार जनालाई भाषा परीक्षामार्फत छनोट गरिएको थियो । छनोट भएकामध्ये हालसम्म ३१४ जनामात्रै कोरिया पुगेको ईपीएस कोरिया शाखाले जनाएको छ । थप ४७८ जनाको एलसी जारी भएको छ ।
एक वर्षदेखि कुरेर बस्दासमेत कोरिया जान नपाएको भन्दै भाषा परीक्षा पास गरेकाहरूले ग्वार्कोमा रहेको ईपीएस कार्यालय घेराउ गरेका छन् । उनीहरूले शाखाका निर्देशक राजकुमार राईलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
‘नलैजाने भए पास किन गरेको ? ३५०० जनाको भविष्यमाथि खेलवाड गर्न पाइँदैन । ६ पटकसम्म ज्ञापनपत्र बुझाउँदा कुनै सुनुवाइ भएको छैन । हरेक पटक ईपीएस कार्यालय प्रमुखलाई भेट्न जाँदा चाँडै हुन्छ भनेर सान्त्वना दिने काममात्रै भयो । तर, कहिले जान पाउने टुङ्गो भएन,’ भाषा पास गरेर कोरिया जाने तयारीमा रहेका एक युवाले भने ।
उनीहरूले पछिल्लो पटक मंसिर १० गते ज्ञापनपत्र बुझाएका थिए । त्यो बेला ईपीएस कोरिया शाखाका निर्देशक राईले एक हप्ताभित्र माग सम्बोधन गरिने आश्वासन दिएको ती युवाले बताए । तर, एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै पहल नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।