झापा, फागुन १३ । पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा लगाएको निषेधाज्ञा हटएको छ ।

आज राति ११ बजेदेखि निषेधाज्ञा हटाइएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आज साँझ एक सूचना जारी गरी फागुन ११ गतेदेखि लगाइएको निषेधाज्ञा हटाएको जानकारी दिएका छन् ।
सदरमुकामको पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा फुङलिङ नगरपालिका ७ घोडेचौर काफ्लेपाटी, उत्तरमा फुङलिङ नगरपालिका–४ उकालीपानी र दक्षिणमा फुङलिङ नगरपालिका ६ शेर्पाटोल, भेटनरी कञ्चनजंघा टोल क्षेत्रसम्म निषेधाज्ञा लगाइएको थियो । सरकारले केबुलकार निर्माण तत्कालका लागि स्थगित गरेपछि ताप्लेजुङको अबस्था सहज बन्दै गएको छ ।
