
झापा,फागुन १५ । नेकापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारीहरूलाई बोकेर हिँडेको आरोप लगाएका छन् । बिहीबार सुनसरीको शुक्रबारे बजारमा पार्टीले आयोजना गरेको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारबाट भ्रष्टाचारी संरक्षित भएको आरोप लगाएका हुन्।
सरकार जनताको पक्षमा काम गर्ने भन्दा व्यापारीहरूलाई पोस्न अग्रसर भएको प्रचण्डको भनाइ छ। आफू नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई पक्राउ गरी सुशासनको पक्षमा काम गरेको भएपनि ओली सरकारले भ्रष्टाचारी जोगाउने काम गरेको आरोप उनको छ । प्रचण्डले तराई– मधेशका जनतालाई विभेद नगरि अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
प्रचण्डले तराईका उखु किसानका माग पूरा गर्न पनि सरकारसँग माग गरे । तराईमा मिटर ब्याजीहरूले सोझासाझा जनताहरूलाई ठगी गर्ने काम नरोकिएको भन्दै मिटर ब्याजीहरूलाई कारवाही गर्नुपर्ने बताए। उनले वर्तमान सरकारले मिटर ब्याज पीडितहरूलाई न्याय दिन नसकेको बताए। प्रचण्डले जागरण अभियानमा जनताले दिएका सुझाव र मागलाई सिंहदरबार र सदनमा पु¥याएर सरकारको ध्यानाकर्षण गराउने बताए ।