झापा,चैत १ । हिन्दु धर्म मान्ने राजवंशी जातिमा अश्लील देवताको पुजा गर्ने चलन अझै छ ।

अश्लीलता प्रदर्शन गरेर र अश्लील गीत सुनाएर खुशी पार्नुपर्ने देवता राजवंशी जातिमा रहेको हो । जसलाई डोल ठाकुर भनिन्छ । होली अर्थात फागु पूर्णिमाका दिन आज त्यस डोल ठाकुर (कुल देवता)को पुजा गर्ने चलन छ ।
डोल ठाकुरको पुजा गर्ने भएर होली पर्वलाई राजवंशीहरुले डोल पाब्नी भन्ने गरेका छन् । कुल देवताको रुपमा रहेको डोल ठाकुरलाई होलीमा सबैले पुजा गर्ने गर्दछन् । उहिले अश्लील गीत गाएर , यौनिक चित्र बनाएर,कामुकता प्रदर्शन गरेर पुरुषहरुले गाउँ डुल्ने गर्थे । घरघरमा त्यस किसिमको अश्लील गीत (जसलाई डोल गीत भनिन्छ ) गाएर हिड्ने प्रचलन थियो ।
‘जति गायो त्यति डोल ठाकुर शान्ति हुने बिश्वास रहेको छ । उहिले महिला केटाकेटीले सुन्नै नसक्ने लाजलाग्दो खालको भएर डोल गाउन छोडिएको राजवंशी बुढापाकाहरु बताउँछन् । अहिले डोल गीत गाएर हिड्ने नगरिएपनि डोल ठाकुरको घरघरमा पुजा गर्ने चलन छ । होलीको दिन चोखो कराइमा पकाएको पुवाँ,अबिर, अक्षता, काँचो दुध, केरा, लड्डु, पान सुपारी, अगरबत्ती चढाएर डोल ठाकुरको पुजा गर्ने चलन रहेको छ । डोल ठाकुरलाई चढाएपछि मात्र अबिर खेल्ने नियम रहेको छ ।
को हुन् डोल ठाकुर
डोल ठाकुरलाई भगवान शिवको अवतारको रुपमा लिने गरिन्छ । प्रकृतिपूजक राजवंशीहरुले प्रकृतिप्रेमी शिवलाई मान्ने गरेका छन् । डोल देवताको पुजा कहिलेदेखि शुरु भयो भन्ने यकिन नभएपनि यसको बारेमा पौराणिक भनाइ सुन्न पाइन्छ । गहिरो मायाजालमा पारेर पार्वतीले छोडेर हिडेपछि शिवलाई एक्लै बस्न असह्य भयो ।
उनी पार्वतीलाई खोज्दै भौतारिरहे । तर, पार्वतीलाई भेट्न सकेनन् । त्यसपछि उनी बिरक्तिएर तपस्या गर्न जंगल गए । यता पार्वती शिवलाई खोज्दै उनीहरु बस्ने कुटीमा पुगिन् । शिवलाई नपाएपछि बिक्षिप्त बनेकी पार्वतीले आवेशमा आएर कुटीमा आगो लगाइदिएर हिडिन् । आगोले कुटीसँगै शिवका लत्ताकपडा सबै डढेर नष्ट भए । पछि शिव फर्केर आउँदा न उनले बस्ने ठाउँ भेटे, न लगाउने लुगा नै । आफ्नो शरीरको अंग छोप्न उनले जीउभरि खरानी दले अनि पार्वतीको वियोगमा गाउँदै नाच्दै ताण्डव देखाउँदै हिडे ।
त्यही प्रसंगलाई लिएर राजवंशी जातिमा डोल गाउने र डोल ठाकुरको पुजा गर्ने चलन चलेको बताइन्छ । पार्वतीले कुटी जलाएको घटनाको स्मरणस्वरुप भेलार घर(भोलाको घर) जलाउने चलन अझै रहेको छ। कतिपयले होलिका दहनसँग भेलार घर जलाउने संस्कृतिलाई जोड्ने गरेको पाईन्छ ।