बरतलाल राजवंशी,
कुमरखोद । माईखोलाको बगरमा तटबन्ध निर्माण गर्नका लागि पटकपटक जग्गा खाली गर्न सूचित गर्दासमेत अटेर गरेपछि झापा गाउँपालिकाका स्थानीयले एक किसानको पाक्न लागेको मकैवाली फाडेका छन् ।

झापा गाउँपालिका वडा नं ४ चर्तागाछी बस्ने मोहमद मसिन अलीले झापा गाउँपालिका वडा नं २ सिमलवाडी बजार पश्चिम टप्पुमा बाह्रदशी चकचकी बस्ने भगीरथ पोद्धारबाट प्रतिवर्ष ३० मनको दरले धान दिने शर्तमा ३ विगाह जमिन ठेक्का लिएका थिए । अलीलाई मकै रोप्नुभन्दा अघि स्थानीयले बाँध बनाउने काम शुरु हुने भएकाले माईखोलाको वगरमा मकै नपरोप्न सचेत गराएका थिए ।

स्थानीय धरमलाल हेमरमका अनुसार स्थानीयले सचेत गराउँदा गराउँदै अलीले कसैको कुराको वास्ता नगरी अटेर गरेर मकैवाली लगाएका थिए । अटेर गरेकै कारण आज उनको मकैवाली स्थानीयवासीले जनप्रतिनिधि , स्थानीय सुरक्षा निकायका प्रमुखको उपस्थितिमा फाडेका हुन् । हेमरम भन्छन् ‘यदि माईखोलाको बाँध समयमा तटवन्ध गरिएन भने झापा गाउँपालिकाको वडा नं १, २ र ३ गाउँवस्ती डुवान हुनुका साथै ठुलो धनजनको क्षति हुन सक्छ ।’ माईखोलाले गत वर्ष वर्षातको समयमा धार परिवर्तन गर्दा वडा नं १ र २ का बस्तीहरु डुवानमा परेका थिए ।


झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु थपलियाले किसान अलीको मकै पाकिसकेकोले भोलिसम्म बाँध वन्ने ठाउँसम्मको मकै टिपेर हटाउन निर्देशन दिएकी छन् । टिपेको मकैको ढुवानी गर्न झापा गाउँपालिकाले १० हजार रुपैयाँ दिने भएको छ । त्यसैगरी वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईले वडावाट पनि अलीलाई सहयोगस्वरुप १० हजार रुपैयाँ दिने बताए । यसैगरी माईखोलाको तटवन्ध ठेक्का लिने कम्पनी भीमेश्वर अग्नी मिराक जेवीले पनि किसान अलीलाई १० हजार रुपैयाँ दिने वडा अध्यक्ष चम्लागाईले वताए । किसान अलीले ३० हजार रुपैयाँ पाउने भएपछि भोलि नै मकै टिप्ने शर्तमा वडाको कागजातमा सहिछाप गरेका छन् ।

गत वर्ष माईखोलाले वर्षातको समयमा धार परिवर्तन गर्दा झापा गाउँपालिका वडा नं १ र २ का वस्तीहरु सुँगावथान , कुवाडी , सडकवारी , मिलनवस्ती , सालमारा , लसुनगंज गाउँ वाढीले डुवानमा परेका थिए । गाउँ डुवानमा परेपछि स्थानीयले नेपाली काँग्रेसका जिल्ला सभापति देउकुमार थेवेलाई ध्यानाकर्षण गराएका थिए । सभापति थेवेको पहलमा जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गत जनताको तटवन्ध गैडेमा बजेट आएको स्थानीय टेकवहादुर कार्की र रामनारायण राजवंशीले बताए । अहिले बन्न लागेको बाँधको लम्वाई ४२० मिटर रहेको छ । उक्त वाँध सतहदेखि २१ मिटर अग्लो र ४ मिटर चौडाई बन्ने छ भने तारजाली ढुङ्गा ओछ्याइने भीमेश्वर अग्नी मिराक जेवीका प्रतिनिधिले वताए । उक्त तटवन्ध वनाउनका लागि भ्याटसहित २ करोड ९५ लाख ४८ हजार ७ सय ८९ रुपैयाँमा ठेक्का लागेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्