झापा, बैशाख १७ । सरकार र नेपाल शिक्षक महासंघ सहमति नजिक पुगेका छन् । २८ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकसँग गएराति शिक्षा मन्त्रालयमा भएको वार्तामा सम्भावित सहमतिको खाकामा समझदारी बनेको हो ।

केही माग मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारले सम्बोधन गर्ने, संसद्को शिक्षा, स्वास्थ्य समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउन प्रतिबद्धता जनाउने र शिक्षकले सडक आन्दोलन स्थगित गर्ने गरी सहमति नजिक पुगेको वार्तामा सहभागी एक शिक्षकले बताए ।
शिक्षकले मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने ९ बुँदे माग प्रस्ताव गरेका छन् भने शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव गरेको छ । वार्ता यिनै विषयमा केन्द्रित रहेको मन्त्रालयका एक अधिकारीले बताए ।
‘शिक्षकका माग सम्बोधन हुने गरी केही निर्णय मन्त्रिपरिषद्बाट हुन्छ । संसद् र राजनीतिक तहबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा प्रतिबद्धता जाहेर गर्ने कुराकानी भएको छ । त्यति भएपछि आन्दोलन स्थगित गरेर विद्यालय फर्कने कुराकानी भएको छ,’ ती अधिकारीले भने । सहमतिअनुसार मन्त्रिपरिषद्ले गर्ने निर्णयको प्रस्ताव तयार पारेर शिक्षा मन्त्रालयले पेस गर्नेछ ।
वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तसहित अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा सचिव दीपक काफ्लेलगायत सहभागी थिए । महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत सहभागी थिए ।
पराजुलीले वार्तामा मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने शिक्षकका मागका विषयमा छलफल भएको प्रतिक्रिया दिइन् । ‘मन्त्रिपरिषद्बाट शिक्षक महासंघका ९ बुँदे प्रस्तावमा निर्णयसँगै ऐन जारी गर्ने डेटलाइनसहितको प्रतिबद्धता आएपछि आन्दोलनले अर्को स्वरूप लिन्छ,’ उनले भनिन् । वार्तामा समझदारी भएका विषय निर्णय भए शिक्षक कक्षाकोठामा फर्केर परीक्षालगायत शैक्षिक गतिविधिमा सहभागी हुने उनको भनाइ छ ।