झापा, बैशाख २७ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको छ ।

उदयपुरस्थित घरबाट घरायसी सामान दाउरा लिएर दुहवी जाँदै गरेको प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान ११ः५० बजे दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत खतिवडाको मृत्यु भएको हो । दुर्घटनामा सवारी चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका प्रसनि खतिवडालाई उपचारका लागि विराट टिचिङ अस्पतालमा पु¥याइएकोमा उपचारका क्रममा दिउँसो १२ः२१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको भ्यान अनियन्त्रित हुँदा सडक छेउको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।
त्रियुगा नगरपालिका–८ राजाबासका खतिवडा नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए । दुर्घटनामा घाइते भएका चालक कार्कीको टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनकी छोरी रोजिना कार्की भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।