झापा, बैशाख २८ । झापाको दमकमा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

गएराति अन्दाजी १०ः१५ बजे दमक नगरपालिका वडा न.१ स्थित रबि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चालक ताप्लेजुङ दोभान बस्ने २२ वर्षीय अंकित लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । लिम्बू दमक थकाली किचन घरको स्टाफ हुन् ।

स्कुटी पछाडी सवार पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न.४ बस्ने ४२ वर्षीया सृजना राई घाइते भएकी छन् । उनको अवस्था गम्भीर रहेको छ । घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको टोली खटिएर कानुनी प्रकृया भइरहेको छ । ट्रक चालक फरार रहेका छन् भने ट्रक र स्कुटी प्रहरीको नियन्त्रणमा रहेको छ ।

त्यस्तै मोरङको ग्रामथानमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । गएराति ९;३० बजेतिर ग्रामथान –२ बतराहीस्थित आर.एम.सी. इटाभट्टाबाट इटा लोड गरी मोहन टोलतर्फ जाँदै गरेको को १ त ७४२५ नं. को ट्रयाक्टर खेतमा फसेको अवस्थामा उक्त इटाभट्टाको ३७०१ नं. को जेसिबीले पछाडीबाट धकेल्दा ट्रयाक्टरको इन्जिनको भाग उठी पछाडीको डालामा ठोकिएर ट्रयाक्टर चालक कटहरी ५ बस्ने २० वर्षीय राहुल सरदार घाइते भएका थिए । उनलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको छ । दुबै सवारीसाधन प्रहरी चौकी झोराहाटले नियन्त्रणमा लिएको छ । जेसिबी चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्