भद्रपुर, जेठ १ । झापाको धुलाबारीमा घाइते अबस्थामा फेला परेको वन्यजन्तु चित्तललाई बचाउन सकिएन ।

घाइते चित्तलको उपचारका क्रममा ज्यान गएको डिभिजन वन कार्यालय झापाका डिभिजन वन अधिकृत बिष्णुलाल घिमिरेले बताए । करिब दुई वर्षको सो चित्तललाई आज बिहान घाइते अबस्थामा कुकुरले लखेट्दै गर्दा फेला पारिएको थियो । ‘कार्यालयमा ल्याएर उपचार गर्दा पनि बचाउन सकिएन’ अधिकृत घिमिरेले भने । त्यसैगरी हिजो हातेमालो सामुदायिक वन चारआलीमा एक महिनाको चित्तल फेला परेको छ । त्यस चित्तललाई उद्धार गरी वन कार्यालयमा राखिएको उनले बताए । कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउनमा वन्यजन्तुको चोरी शिकारी बढेको छ । मानिसहरु खाली भएपछि वन तस्करी र चोरी शिकारीमा लागेको हुनसक्ने बताउँदै घिमिरेले त्यसलाई नियन्त्रण गर्न लकडाउनमा पनि नियमित गस्ती भइरहेको जानकारी दिए । शिकारीले प्रहार गरेको हतियार लागेर घाइते भएका तीनवटा पशुपंक्षीलाई वन कार्यालयले उद्धार गरी निको बनाएर बासस्थान पुर्याएको छ ।

त्यस्तै लकडाउनमा वन तस्करी पनि बढेको छ । लकडाउनमा अबैधरुपमा काठ चोरी तस्करीका घटना धेरै बढेको वन कार्यालयले जनाएको छ । लकडाउनअघिको एक महिनामा ३४५ किवी काठ बरामद भएकोमा लकडाउनको त्यति नै अवधिमा ५५५ किवी अबैध काठ बरामद गरिएको घिमिरेले बताए । उनले लकडाउनको अबधिमा २७ पटक गस्ती गएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्