बिर्तामोड , जेठ १ । बिर्तामोड नगरपालिकाले दोस्रो चरणको राहत वितरण आजदेखि शुरु गरेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न जारी लकडाउनका कारण खाद्यान्नको समस्यामा परेका विपन्न परिवारहरुलाई नगरपालिकाले दोस्रो पटक राहत बाँड्न थालेको हो । दोस्रो चरणअन्तर्गत आजदेखि बिर्तामोड ५ नं वडा कार्यालयले राहत वितरण गर्न थालेको छ । बिर्तामोड— ५ मा हाल १ हजार ६६३ घरधुरी विपन्न रहेको वडा कार्यालयले निकालेको पछिल्लो तथ्यांकले देखाएको छ । यसअघि पहिलो चरणमा ६९० परिवार विपन्न रहेको तथ्यांक निकालिएको वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताए ।

बिर्तामोडमा पहिलो चरणको तुलनामा दोस्रो चरणमा विपन्नको संख्या दोब्बरबढी भएको छ । तर, नगरपालिकाले पहिलो चरण बमोजिमकै संख्यालाई दोस्रो चरणमा पनि राहत वितरण गर्ने जनाएको छ । पहिलो चरणमा ६ हजार ९३० परिवारले राहत पाएका थिए । दोस्रो चरणमा थपिनेहरुलाई सम्बन्धित वडाले ब्यबस्थापन गर्नुपर्ने भएको छ । बिर्तामोडका सबै वडाहरुमा वडास्तरीय राहत ब्यबस्थापन कोष स्थापना गरिएको छ । ती कोषमा पनि राहत संकलन भइरहेको वडा कार्यालयहरुले जनाएका छन् । दोस्रो चरणमा थपिएका विपन्न परिवारका लागि चामल सम्बन्धित वडाले ब्यबस्थापन गर्नुपर्ने र दाल र नुन भने नगरपालिकाबाट उपलब्ध गराइएको नगरपालिका कार्यालयका नायब सुब्बा मेघराज बास्तोलाले बताए । नगरपालिकाले प्रतिब्यक्ति ४ केजी चामल, आधा केजी दाल र एक पोका नुन वितरण गर्ने कार्यबिधि बनाएको छ । त्यसैगरी बिर्तामोड ६ नं. वडाले पनि आजदेखि दोस्रो चरणको राहत वितरण गरेको छ । वडा नं ६ मा पहिलो चरणमा ७०५ परिवार रहेकोमा यो चरणमा २४३ परिवार थपिएको वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाले जनाएका छन् । बिर्तामोड नगरपालिकाको नगरस्तरीय राहत कोषमा करिब डेढ करोडको हाराहारीमा रकम तथा खाद्यान्न जम्मा भएको छ । त्यस कोषबाट पहिलो चरणको राहतमा करिब ५३ लाख रुपैयाँ खर्च भएको परिपत्र वडा कार्यालयमा आएको बिर्तामोड १० का वडा सदस्य अर्जुन सिटौलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्