द्रोण अधिकारी
भद्रपुर, जेठ १६ ।भद्रपुरमा यथासिघ्र कोरोना उपचार अस्पताल बनाइनु पर्ने माग सरोकारवालाले अगाडि सारेका छन् ।

कोरोना अस्पताल विवाद समितिले भद्रपुरमा आयोजना गरेको सरोकारवाला निकायका प्रतिनिधिसितको सर्वपक्षीय छलफलमा सहभागीहरूले मेची अस्पताल सञ्चालनमा रहेको भवन जीर्ण र साँघुरो रहेको तथा निर्माणाधीन भवन निर्माणका चरणमा रहेकाले विकल्पका रूपमा रहेका भवनमध्येमा यथासिघ्र अस्पताल सञ्चालन गरिनु पर्ने माग अगाडि सारेका हुन् । भेलामा सहभागीहरूले भद्रपुर १० स्थित कलवलगुडी प्रशिक्षण केन्द्रको भवन, चन्द्रगढीमा रहेको खाद्य गोदाम, निर्माणाधीन गिरिजाप्रसाद स्मृति सभा गृह, वा निर्माण सम्पन्नको चरणमा पुगेको भद्रपुर नगरपालिकाको नयाँ भवनमध्ये एक स्थानमा अस्पताल सञ्चालन गरिनु पर्ने माग गरेका हुन् ।
भेलामा सहभागी अधिकांसले भद्रपुरको विकासमा स्थानीय बाधक भन्ने भ्रम फैलाएर केही विकासविरोधी तत्वहरूले अस्पताल निर्माण कार्य ओझेलमा पारेकोप्रति आपत्ति जनाएका छन् । उनीहरूले अस्पताल बनिनु स्वागतयोग्य भएपनि भरपर्दो सुरक्षा सावधानीविना अस्पताल बनाउनु नहुने समेत प्रष्ट पारेका छन् ।
भेलामा सहभागी उद्योग वाणिज्य संघ झापाका अध्यक्ष नवराज पनेरूका अनुसार कोरोना संक्रमण तीव्र गतिमा देखिएको झापाका लागि भद्रपुरमै एउटा कोरोना अस्पताल छिटो भन्दा छिटो निर्माण आवश्यक छ । तर, छिटो अस्पताल बनाउने बहानामा असुरक्षित भवनमा निर्माण गरिनु नहुने पनेरूको धारणा छ ।
अर्का सहभागी प्रा. डा. पृथ्वीविक्रम राई निर्माणाधीन भवनको सम्पूर्ण काम सम्पन्न गर्न महिनौ लाग्न सक्ने अवस्थामा निर्माण सम्पन्न भएका बैकल्पिक भवनहरूमध्येमा अस्पताल बनिनु पर्ने बताउँछन् । राईले सञ्चालनमा रहेको अञ्चल अस्पताल र प्रस्तावित कोरोना अस्पतालको मुख्य प्रवेशद्वार एउटै भएका कारण पनि प्राविधिक दृष्टिले मेची अस्पतालमा कोरोना अस्पताल थप्न असंभव देखिने स्पष्ट पारेका थिए ।
अग्रज पत्रकार गोपाल गिरी स्थानीयमा रहेको कोरोना त्रास अन्त्य हुने आधिकारिक विज्ञ टोलीविनाको घोषणा आएकाले समस्या उत्पन्न भएको जनाउँछन् ।स्थानीय विकास विरोधी होइनन् भन्दै गिरी अस्पताल बनिनु पर्छ तर, दीर्घकालसम्म असर नगर्ने सोचले काम गर्नु पर्ने प्रष्ट्याउँछन् ।
कोरोना अस्पताल विवाद समाधान समितिका संयोजक भक्त खवासको अध्यक्षतामा सम्पन्न छलफलमा भद्रपुर नगर क्षेत्रका रहेका विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्