मनिषा चम्लागाईँ । झापा भदौ, २८ ।

कोरोना महामारीका कारण व्यवसाय ठप्प हुँदा सिमेन्ट उद्योग समस्यामा छन् । सबै क्षेत्रमा निर्माण कार्य रोकिँदा सिमेन्ट उद्योग गम्भीर समस्यामा परेको उद्योगीहरू बताउँछन् । सरकारले उद्योग सञ्चालनको अनुमति दिए पनि बजार पूर्ण रूपमा नखुलेसम्म सिमेन्ट उत्पादन तथा बिक्री सहज नहुने कञ्चनजंघा सिमेन्ट उद्योग झापाका सञ्चालक मिनप्रकाश मैनालीले बताए ।


“लकडाउनपूर्व नै बजारमा गएको सामानको पैसा उठेको छैन” मैनालीले भने, “त्यसैले उद्योग घाटामा छ भन्ने थाह भए पनि उत्पादन रोक्न मिल्दैन ।” पहिलेको तुलनामा ४० प्रतिशत मात्र उत्पादन गर्दै आएको उनको भनाई छ । “हामीले दैनिक ५ हजार ब्याग सिमेन्ट उत्पादन गर्दै आएका थियौँ, लकडाउनपछि दैनिक २२ सय ब्याग सिमेन्ट उत्पादन हुन्छ” मैनालीले भने “प्रत्येक घण्टामा सिमेन्टको आयु मर्छ, त्यसैले माग बिना उत्पादन गर्ने अवस्था रहन्न ।” सरकारी बजेट सञ्चालनमा नआएकाले पनि उद्योग मारमा परेको मैनाली बताउँछन् ।


सिमेन्ट उद्योगमा जनशक्तिको समेत अभाव सिर्जना भएको छ । उद्योगमा भारतीय ‘मिलर टोली’ (मिल सञ्चालन हेर्ने टोली) रहेको र बन्दाबन्दीसँगै उनीहरु भारत फर्केकाले मजदुर अभाव शुरु भएको हो । उनीहरुलाई तत्काल नेपाल फर्काउन समस्या रहेकाले गुणस्तरीय उत्पादनको चुनौती रहेको मैनाली बताउँछन् । “यहाँका मजदुरले प्राविधिक कुरा जान्दैनन् त्यसकारण पनि उद्योगी मारमा छन्” मैनालीले भने । बजार अभाव नै सिमेन्ट उद्योगको प्रमुख समस्या रहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् । अहिले देशभर २५ प्रतिशत सिमेन्टमात्र उत्पादन भइरहेको थापाको भनाइं छ । सिमेन्ट उद्योग सञ्चालनमा नहुँदा सरकारले करोडौँ रुपैयाँ राजस्वसमेत गुमाएको थापाले बताए । “सिमेन्ट कहिलेसम्म ‘स्टक रहन्छ’ भन्न सकिँदैन त्यसैले बजार पूर्णरूपमा नखुल्दा उत्पादन कम भएको हो” थापाले भने ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन जारी भएसँगै सिमेन्ट उद्योग सञ्चालन गर्ने वातावरण नै नभएको गोरखकाली सिमेन्ट उद्योग झापाका सञ्चालक दिपेश ढकाल बताउँछन् । “झापामा ७ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्” ढकाल भन्छन्, “सबैको समस्या भनेकै बजार अभाव हो ।” उद्योगमा रहेका भारतीय मजदुरलाई दशैँपछि पुनः काममा कसरी फर्काउने भन्ने अर्को समस्या रहेको ढकालले बताए । यस वर्ष कोरोना कहरको कारण ५० प्रतिशतभन्दा धेरै उत्पादन कम हुने उनको भनाइ छ ।

त्यस्तै, गत चैतदेखि उत्पादन शुरु गर्ने उद्देश्यले दर्ता भएको काबेली सिमेन्ट इन्ड्रस्ट्रिज झापा हल्दिबारीले उत्पादन शुरु गर्नुपूर्व नै लकडाउन खेप्नु प¥यो । उद्योगी देवीप्रसाद मैनालीले काबेली सिमेन्ट इन्डस्ट्रिज दर्ता गराएका हुन् ।
“उद्योग सञ्चालनका लागि कच्चा पदार्थदेखि जनशक्तिको समेत व्यवस्था गरेका थियौँ” अर्का सञ्चालक सुमन मैनालीले भने, “चैतदेखि उत्पादन बजारमा ल्याउने लक्ष्य थियो, सबै काम ठप्प भयो ।” ६० करोड लगानी गरेको उद्योगले ७६ जनालाई रोजगारी दिने लक्ष्य राखेपनि लकडाउनले गर्दा लक्ष्य पूरा नभएको मैनाली बताउँछन् । “कोरोना भाइरसको कारण हामी धेरै मारमा छौँ” मैनालीले भने, “व्यवसाय शुरु गर्न नपाउँदै लकडाउन शुरु भयो, बैंकको ब्याज तिर्न नै समस्या हुन थालेको छ ।”
उद्योगको वार्षिक एक लाख ५० हजार मेट्रिक टन ओपिसी र एक लाख मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन क्षमता रहेको छ । अब थोरै परिमाणमा भएपनि केही दिनमा नै उत्पादन बजारमा ल्याउने तयारी शुरु गरिएको मैनालीले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्