बिर्तामोड, कात्तिक ३ । ‘इन्डियन लाहुरे हुँ’ भनी महिलालाई बिहे गर्न आश्वासन दिएर ठगी गर्ने एक पुरूष पक्राउ परेका छन् । केही दिन अघि प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय इलामले झापा अर्जुनधारा –७का प्रदिप खड्कालाई इलाम सदरमुकामबाट पक्राउ गरेको हो ।

‘इन्डियन लाहुरे हुँ’ भनी महिलालाई बाबु श्रेष्ठ र नेवार केटो म नामक फेसबुक आइडीमार्फत् कुरा गर्ने र विवाह गर्ने आश्वासन दिएर भटेपछि ठग्ने गर्ने गरेको प्रहरीले जनाएको छ ।
खड्कालाई अहिले इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ । “दमकमा उजुरी परेको हुँदा हामीले ठगी मुद्धा चलाएर अनुसन्धान गरिरहेका छौँ” इप्रका दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले भने, “दमककै एक महिलाले गत वैशाखमा उनीविरुद्ध उजुरी दिएकी थिइन् ।” प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ । अहिलेसम्म ४ जना महिला प्रहरीको सम्पर्कमा आएका छन् ।

ठगी नम्बर –१
दमक नगरपालिका –५की सानु माझी (नाम परिवर्तन)को खड्कासँग फेकबुम मार्फत् कुराकानी शुरु भयो । फेकबुकमा कुरा भएको २ महिनामा माझीको पहिलो भेटमा सँगै कफी पिए । “त्यसपछि विवाह गर्ने कुरा भयो” माझी भन्छिन्, “विवाह गर्ने काठमाडौँमा होटल खोल्ने भनेर १ हप्तासम्मसँगै बसौँ ।” व्यापारका लागि आवश्यक भनेर २ लाख ५० हजार रुपैयाँ माझीले खड्कालाई दिइन् । उक्त पैसा र आफ्नो स्कुटरसमेत लिएर खड्का फरार भएको माझीले बताइन् । उनले गत वैशाखमा इलाका प्रहरी कार्यालय दमकका माझीविरुद्ध उजुरी दिएकी छन् ।

ठगी नम्बर –२
इलामकी रमला गिरी (नाम परिवर्तन )को खड्कासँग फेसबुक मार्फत् चिनजान भयो । फेसबुकबाट शुरु भएको चिनजान फेन हुँदै लकडाउन अघि भेट भयो । २८ बर्षिय गिरीले खड्कासँग बिहे गर्ने र व्यवसाय गर्ने प्रलोभनमा परी ८० हजार रुपैयाँ आइएमी मार्फत् पठाएको बताउँछिन् ।

ठगी नम्बर –३
हल्दिबारी जलथलकी २५ बर्षिया सर्मिला गुरुङ (नाम परिवर्तन )को यात्राको क्रममा खड्कासँग भेट भयो । भेट हुँदै फेन र फेसबुकमा कुरा शरु भएको बताउने गुरुङ पनि विवाह गर्ने र व्यवसाय गर्ने प्रलोभनमा परिन् । गुरुङले आइएमी मार्फत् खड्कालाई ९० हजार रुपैयाँ पठाइन् । पैसा पठाएसँगै खड्का सम्पर्कविहिन भएको उनी बताउँछिन् ।

ठगी नम्बर –४
इटहरीकी रमला लिम्बू (नाम परिवर्तन ) पनि खड्कासँग विवाह गर्ने प्रलोभनमा परिन् । विवाह गर्ने सोच बनाएर सँगै होटलमा बसेकी लिम्बू होटलबाटै लुटिइन् । “पैसा पनि मागेको थियो, लिम्बू भन्छिन्, “म सँग पैसा थिएन, होटलमा सँगै बसेको समयमा डेढ तोलाको सुनको सिक्री, कानमा लगाउने झुम्का र मोवाइल लिएर फरार भयो ।” प्रहरीले खड्काबाट स्कुटर बरामद गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्